गत साताको बाढी, पहिरो र डुबानका कारण सहायक मार्गहरू मात्रै होइन, राजमार्गहरूको अवस्था पनि राम्रो छैन। धेरै सडक त दूरावस्थामै छन्।
कतिपय राजमार्गहरू पूर्ण रूपमा बन्द छन्।
यही समयमा मानिसहरूको आवतजावत बढ्दैछ। दसैं नजिकिएसँगै तपाईंहरू पनि यात्राका लागि बाहिरिँदै हुनुहुन्छ होला। यातायात व्यवसायी तथा सरोकारवालाहरूले भने बाध्यात्मक अवस्थामा बाहेक अहिले आवतजावत नगर्न आग्रह गरिरहेका छन्। बाध्य भए बाटोको अवस्था बुझेर मात्रै जान उनीहरूको आग्रह छ।
आज हामीले अहिलेको बाटोको अवस्था, यातायात जामको अवस्था, राजमार्गहरू बन्द भएको अवस्थामा वैकल्पिक मार्गहरू, भाडा दर र यात्रु व्यवस्थापन लगायत विषयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वारसँग कुराकानी गरेका छौं।
उनीसँगको कुराकानीका क्रममा हामीले कुन ठाउँमा कति समयमा पुग्न सकिने स्थिति छ, अहिले सबभन्दा बढी भाडा दर कहाँ कायम गरिएको छ, यात्रु वा यातायात व्यवस्थापन गर्न कुन क्षेत्रमा बढी मुस्किल परेको छ लगायत विषयमा पनि सोधेका छौं।
उनले सकेसम्म यो अवस्थामा यात्रा नगर्न आग्रह गरेका छन्। अहिले बिपी राजमार्ग त बन्द नै छ। यसका कारण पूर्व जाने यात्रुका लागि अर्को मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ। पृथ्वी राजमार्गको अवस्था पनि त्यति राम्रो छैन। विशेषगरी धादिङका विभिन्न क्षेत्रमा बाटोको समस्या देखिएको छ। विभिन्न ठाउँमा गाडीको लाम लागेको छ। समयमा गाडी आएका र गएका छैनन्। यसलाई व्यवस्थापन गर्ने काम भइरहेको बताइए पनि सहज देखिएको छैन।
यद्यपि दसैं तथा चाडपर्वको समयमा आफ्नो घरगाउँ जानेलाई गाडीको समस्या भने नहुने उनले बताएका छन्।
हेर्नुस् उनीसँगको कुराकानी भिडिओमाः