पृथ्वी राजमार्ग यातायात कम्पनीले बुधबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
भोलि बिहान ८ बजेबाट टिकट बुकिङ खुला गर्ने सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपालले बताए।
उनका अनुसार पोखराबाट देशका सबै भू–भागमा जाने सार्वजनिक गाडीको टिकट बुकिङ गर्न सकिने छ।
अनलाइन माध्यमबाट समेत टिकट बुकिङ गर्न सकिने छ।
यसअघिका वर्षहरूमा सार्वजनिक गाडीहरू समितिबाट चल्ने हुँदा अग्रिम टिकट बुकिङ खुला गर्न सरकारको मुख ताक्नुपर्ने अवस्था थियो।
अहिले कम्पनी मोडलमा गइसकेकाले आफ्नो हिसाबले अग्रिम टिकट बुकिङ खुला गर्न थालेको उनले बताए।
यो पटकको दसैंमा सडकका कारण यात्रुहरूले ठूलो सास्ती झेल्नुपर्ने अवस्था आउन सक्ने उनले गुनासो गरे।
'बाटोका कारण समयमा गाडी बसपार्क पुग्न सकेन भने यात्रुको चाप बढ्छ र गाडी पुर्याउन मुस्किल पर्छ। बाटो सहज बनाउन सरकारले जतिसक्दो छिटो काम गर्नुपर्ने देखिन्छ,' उनले भने।
यो वर्षको दसैंका लागि अरनिको यातायातले समेत अग्रिम टिकट बुकिङ खुला गरिसकेको छ।