रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्रयाक टेकुमा सम्पन्न गरेको छ।
यो टेस्ट राइड ट्रयाक भदौ २१ गतेदेखि २३ गते (सेप्टेम्बर ६ देखि ८) सम्म सञ्चालन गरिएको थियो। हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको ट्रयाकले अफरोडिङ अनुभव प्रदान गरेको कम्पनीले बताएको छ।
अफ–रोड ट्रयाकमा हुने यस अनुभवले राइडरलाई हिमालयन ४५० को रोमाञ्चकता र साहसिक क्षमताको प्रत्यक्ष अनुभव प्रदान गरेको छ।
अल्फा अटोमोटिभले नाडा अटो शो २०२४ मा रोयल इन्फिल्डको नयाँ मोडल हिमालयन ४५० सिसी शेर्पा इन्जिन सार्वजनिक गरेको थियो।
हिमालयन ४५० को प्रारम्भिक मूल्य ९ लाख ८९ हजार ५०० रूपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य १० लाख ३९ हजार ५०० रूपैयाँ रहेको छ।
हिमालयन ४५० मा ४ भेरियन्टहरू उपलब्ध छन्।
जसमा काजा ब्राउनको मूल्य ९ लाख ८९ हजार ५०० रूपैयाँ, स्लेट पपी ब्लु/स्लेट हिमालयन साल्टको मूल्य ९ लाख ९९ हजार ५०० रूपैयाँ, क्यामेट ह्वाइटको मूल्य १० लाख १८ हजार ५०० रूपैयाँ र हान्ले ब्लाकको मूल्य १० लाख ३९ हजार ५०० रूपैयाँ तोकिएको छ।
४५२ सिसी इन्जिन र आधुनिक एबीएस प्रणालीले सुसज्जित यो मोटरसाइकलले रोयल इन्फिल्डको आधुनिक प्राविधिक सुधारसहित संयोजन गरेको छ।
यो मोटरसाइकल नेपालको पहाडी एवं हिमाली सडकहरूमा एडभेन्चर यात्राको लागि सर्वोत्कृष्ट रहने कम्पनीको दाबी छ।
रोयल इन्फिल्ड सिरिजमा हिमालयन ४५० विशिष्ट रूपमा अगाडि आएको छ।
यस हिमालयनले इण्डियन मोटरसाइकल अफ द यर २०२४ अवार्ड प्राप्त गरेको छ।
हिमालयन प्लेटफर्ममा आधारित यो ४५० भेरिएन्टले विविध भू–भागमा (तराई–पहाड–हिमाल) उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ। यसको मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडकहरूमा होस् या एडभेन्चर रुटहरूमा सुमधुर र रोमाञ्चक यात्रा प्रदान गर्दछ।
हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलइडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन्।
रोयल एन्फिल्ड हिमालयनको म्याक्सिमम पावर २९.४४ किलोवाट रहेको छ भने म्याक्सिमम टर्क ४० एनएम@५५०० आरपिएम रहेको छ।हिमालयन ४५० सिसीमा १७ लिटरको फ्युल ट्यांकी छ, जसले लामो यात्रा सुनिश्चित गर्दछ।
अगाडि पांग्राको साइज ९०/९०–२१ छ भने पछाडि पांग्राको साइज १४०/८० आर १७ छ। यस बाइकमा २३० मिमिको उच्च ग्राउन्ड क्लियरेन्स छ।
डुअल च्यानल एबिएस र स्विचेबल एबिएसका साथै यसमा ४ इन्चको गोलो टिएफटी डिस्प्ले छ, जसमा फोन कनेक्टिभिटीको सुविधा, गुगल म्यापद्वारा सञ्चालित फुल मेप नेभिगेसन र मिडिया कन्ट्रोल्स पनि उपलब्ध छन् जसले यात्रालाई थप स्मार्ट र सुविधाजनक बनाउने बताइएको छ।
यो मोटरसाइकलमा युएसबी चार्जिङ पोर्ट र एर्गोनोमिक ह्यान्डलबार कन्ट्रोल जस्ता आधुनिक सुविधाहरू समावेश छन् जसले क्लासिक सौन्दर्यलाई आधुनिक कार्यक्षमतासँग मिलाउँछ।
हिमालयन ४५० अल्फा अटोमोटिभका नेपालभर रहेका २४ ओटै सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ।