बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यू इनर्जी भेइकल (एनइभी) को ग्लोबल लिडर बिवाइडीसँगको सहकार्यमा साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ।
फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्नेछ भने प्रत्येक बिवाइडी गाडी बिक्री बापत १० हजार रूपैयाँ फाउन्डेसनमा जम्मा गरिने छ।
यस सम्बन्धी घोषणा समारोहमा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक बिवाइडी गाडीबापत १० हजार रूपैयाँ साइमेक्स बिवाइडी फाउन्डेसनलाई उपलब्ध गराउने घोषणा गरे।
यो पहलले कुनै पनि कार्यमा महत्त्वपूर्ण प्रभाव पार्ने गरी समुदायलाई संलग्न गराउने बिवाइडी र साइमेक्सको सामूहिक लक्ष्यतर्फ संकेत गर्दछ।
यसका साथै साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले फाउन्डेसन शुभारम्भका लागि साइमेक्स इंकले १ करोड रूपैयाँ योगदान गर्ने घोषणा गरे।
सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने नेतृत्वको अटल समर्पणलाई यसले प्रतिविम्वित गर्ने बताइएको छ।
शिक्षा, स्वास्थ्य सेवा र दिगो विकास जस्ता समाजमा भएका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्ने कार्यमा फाउन्डेसन केन्द्रित हुुनेछ।
यसरी जम्मा गरिएको सहयोग रकम र अन्य सामूहिक प्रयासलाई नेपाली जनताको जीवनस्तर सुधार गर्न र राष्ट्रको प्रगतिमा योगदान पुर्याउन समर्पित गरिने बताइएको छ।
बिवाइडी नेपालका प्रतिष्ठित ब्रान्ड एम्बेसडर हरिबंश आचार्यले साइमेक्स इंक र बिवाइडीले यसरी समुदायमा वास्तविक फरकपनको अनुभव गराउन गरेको अर्थपूर्ण पहलका लागि बधाई दिए।
कम्पनीका अनुसार यो फाउन्डेसन साइमेक्स इंक र बिवाइडीको सामाजिक हितको लागि समर्पणको प्रमाण भएको र यसलाई व्यावसायिक उद्यम मात्र नभई दिगो विकास र सकारात्मक परिवर्तनको संवाहक समेत बनाएको छ।