बिवाइडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले 'साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन' सुरू गरेको छ।
हाल कम्पनीले फाउन्डेसनमा एक करोड रूपैयाँ हालेको छ। हरेक बिजुली गाडीको बिक्री बराबर दस हजार रूपैयाँ यो फाउन्डेसनमा हाल्ने कम्पनीले जनाएको छ।
फाउन्डेसन सुरूआतको अवसरमा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजिनका जनरल म्यानेजर लिउ जुलियाङले नेपालमा बिवाइडीको सफलता उल्लेख्य रहेको बताए।
यसै सन्दर्भमा हामीले जुलियाङसँग नेपालमा बिजुली गाडीको बजार, यस्ता गाडीको क्षमता, दिगोपन, बिवाइडीको भावी योजना लगायत विषयमा कुराकानी गरेका छौं।
प्रस्तुत छ उनीसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंशः
अहिले नेपाल मात्र होइन, विश्वभर स्वच्छ ऊर्जा र यसबाट चल्ने सवारी साधनको प्रयोगमा उपभोक्ताहरूको ध्यान गइरहेको छ? नेपालमा बिवाइडीका सवारीको बजार कत्तिको बिस्तार भइरहेको छ?
हामीले नेपालमा सन् २०१८ मा पहिलोपटक बिवाइडीका सवारी नेपालमा बिक्री सुरू गरेका थियौं। प्रविधि वा ऊर्जाको दृष्टिकोणले पनि बिवाइडीका सवारीका अधिक लाभदायी छन्। विगत ५-६ वर्षदेखि हामीले यहाँका उपभोक्तालाई लक्षित गर्दै विद्युतीय सवारीको भविष्य र यसको लाभका बारेमा विभिन्न माध्यमबाट बुझाउने प्रयास गरिरहेका छौं। नेपाली बजारमा हाम्रो उपस्थिति राम्रै छ।
हामीले नेपालमा आफ्नो उत्पादन भित्र्याउनुअघि यहाँका उपभोक्ता, अवस्थिति लगायतबारे गहन सर्वेक्षण गर्ने गरेका छौं। त्यसैले पनि हामीले यहाँ सफलता पाइरहेका छौं। सञ्चारमाध्यमले पनि विद्युतीय सवारी साधनका लाभका बारेमा आमउपभोक्तालाई सुसूचित गराइरहेका छन्। त्यसैले म सञ्चार माध्यमहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
बिवाइडी नेपालको जस्तो पहाडी बाटोमा सुहाउँदो छ? कसरी?
हामीले नेपालको भौगोलिक अवस्थालाई हेरेर नै यहाँ सबभन्दा पहिले बिवाइडीको इ-सिक्स मोडल भित्र्याएका थियौं। हामीले नेपाली सडकमा परीक्षण गर्ने उद्देश्यले नै पहिले यो गाडी ल्याएका थियौं। यहाँका विभिन्न स्तरका सडकमा पनि यो गाडी राम्रोसँग चल्न सक्ने पायौं।
यहाँका उपभोक्ताहरूले विद्युतीय सवारीलाई सजिलै स्वीकार गरेका छन्। सरकारले पनि विद्युतीय सवारीका लागि सहज नीतिगत व्यवस्था गरिदिएको छ। नेपाल आफै विद्युत उत्पादक मुलुक हो। लागतको हिसाबले पनि नेपाललाई विद्युतीय सवारीमै धेरै लाभ छ। यहाँ बढिरहेको विद्युतीय सवारी साधनको प्रयोगले मुलुकको अन्य ऊर्जामा रहेको परनिर्भरतालाई पनि कम गर्दै लैजाने देखिन्छ।
नेपालमा बढ्दो वातावरणीय चुनौतीका बीच विद्युतीय सवारीको प्रयोगमा भइरहेको वृद्धिले यो चुनौती सामना गर्न सहयोग पुग्ने हामीलाई विश्वास छ। जैविक ऊर्जाको कारण यहाँको वातावरणमा पुग्ने असर घटाउन सहयोग पुगिरहेको छ। पछिल्लो ६ महिनामा यहाँ विद्युतीय सवारी साधनको प्रयोग ६० प्रतिशत पुगेको छ। यसमा हामी खुसी लागेको छ। बिवाइडी र स्थानीय साझेदार सिम्याक्सको संयुक्त प्रयासले यहाँ विद्युतीय सवारी साधान प्रयोगमा बढोत्तरी हुनेमा हामी आशावादी छौं।
बिजुली गाडीको क्षमताबारे पनि पहिले र अहिले पनि धेरै प्रश्न उठिरहेका छन् नि?
हामीले ग्राहकहरूमा रहेको गलत धारणा चिर्न टेस्ट ड्राइभ गर्न आग्रह गर्छौं। मलाई लाग्छ टेस्ट ड्राइभबाटै यी गाडीहरूप्रति विश्वास बढ्ने गरेको छ।
बिजुली गाडीको सञ्चालन खर्च जैविक इन्धनबाट चल्ने सवारी साधनको भन्दा निकै कम हुन्छ। बिवाइडीले नेपालमा अहिले चार मोडलका गाडी भित्र्याएको छ। यहाँका उपभोक्ताका फरक फरक मागलाई यसले सम्बोधन गर्ने हामीलाई विश्वास छ।
बिजुली गाडीको ब्याट्रीका सन्दर्भमा धेरैलाई अलमल छ। यो भ्रम कसरी चिर्दै हुनुहुन्छ?
हालसम्म हामीले ८० लाख बिवाडी गाडी उत्पादन गरिसकेका छौं। यो संख्याले पनि बिवाइडी गाडीका ब्याट्रीमा कुनै समस्या नरहेको पुष्टि गर्छ।
बिवाइडीले औद्योगिक उत्पादन थाल्दा सुरूमै ब्याट्रीका विषयमा अध्ययन गरेको थियो। बिवाइडीले ब्याट्री मात्र होइन, मोटर, मोटर कन्ट्रोलरको डिजाइन पनि उत्पादन गर्छ। हामीलाई विश्वास छ, हाम्रो गाडी र यसका प्रयोग भएको ब्याट्री विश्वकै उत्कृष्ट र भरपर्दो छ।
बिवाइडीले आफ्नो गाडीलाई अझै सहज र उपभोक्तामैत्री बनाउन नयाँ के प्रविधि ल्याउँदैछ?
प्रविधिमा जहिले पनि नयाँ नयाँ विकास भइरहेको हुन्छ। बिवाइडीले अनुसन्धान र विकासमा ठूलै लगानी गरिरहेको छ। हामीले नयाँ नयाँ उत्पादनमा काम गरिरहेका छौं। उत्कृष्ट प्रविधिको प्रयोगमा ध्यान दिइरहेका छौं।
नेपालमा बिवाइडीले सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला बस र मालवाहक ट्रक पनि ल्याउँछ भविष्यमा?
नेपालबाट माग भएमा हामी यस्ता उत्पादन भित्र्याउन पनि तयार छौं। हामी नेपालको 'मोबिलिटी' पूर्ण विद्युतमा आधारित भएको हेर्न चाहन्छौं।