नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले नेपाली अटो क्षेत्र गहिरो संकटमा रहे पनि व्यवसायीहरूको अनुहारमा आशाको किरण देखिएको बताएका छन्।
आइतबार सम्पन्न नाडा अटो शो २०२४ को समापन समारोहमा उनले यस्तो बताएका हुन्।
चौधरीले नाडा अटो शो २०२४ ले सरकारलाई अटो क्षेत्रको वर्तमान अवस्था र यसले भोगिरहेको चुनौतीहरूको वास्तविकता बुझाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
नेपाली अटोमोबाइल क्षेत्र अहिले शोकमा रहेको र व्यवसायले आफूले चाहेको जति प्रगति गर्न नसकेको उनले स्वीकारे।
स्थान र समयको सीमितताका कारण नाडा अटो शोको अवधि थप्न नसकिएको उनको भनाइ छ।
अटो सेक्टरलाई अघि बढाउन सकारात्मक वातावरण नाडा अटो शो २०२४ ले बनाएको अध्यक्ष चौधरीले बताए।
अटो शो समापन कार्यक्रममा उनले गभर्नर महाप्रसाद अधिकारीले आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेको विषय स्मरण गराए।
यो प्रतिबद्धताले व्यवसायीहरूमा नयाँ आशा पैदा गरेको उनको धारणा छ।
चौधरीले नाडा अटो शोले यस वर्षको दसैंलाई स्वागत गर्दै, व्यवसायीहरूको मनमा नयाँ आशाको सञ्चार गरेको बताए।
शोको सफलता र गभर्नर अधिकारीको समर्थनले अटोमोबाइल क्षेत्रको लागि सकारात्मक संकेतहरू देखिएको उनले उल्लेख गरे।
अहिले पनि अटो मोबाइल क्षेत्र समस्यामा रहेको विषय सरोकारवालाले मनन गर्न आवश्यक रहेको उनको भनाइ छ।
नाडा अटो शो २०२४ भदौ ११ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको थियो। यो पटकको शोमा ८० प्रतिशत विद्युतीय गाडी राखिएको थियो।