भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि बिहीबार पुगेका उनले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए।
देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याइ रहेको उनको भनाइ थियो।
जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उनले बताए।
अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यवसायले नेपालमानै स्वरोजगारी समेत सिर्जना गरेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताए।
भदौ ११ देखि १६ गतेसम्म आयोजित अटो शो अवलोकनका लागि मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत अधिकारीहरू पनि सहभागी थिए।
एसोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराए।