यो पटकको नाडा अटो शोमा बिजुली गाडीहरू प्राथमिकताका साथ राखिएका छन्।
यात्रुवाहक बस र पिकअप भ्यानहरू पनि विद्युतीय मात्रै राखिएको नाडा अटो शोका संयोजक एवं व्यवसायी अनुप बरालले बताए।
बिजुली गाडीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्राथमिकता दिएको उनको भनाइ छ।
मेलामा सिजी मोटर्स, शशिला मोटर्स, एसआरएम, फोटोन, इको ड्राइभ लगायत कम्पनीका इभी यात्रुवाहक तथा प्यासेन्जर भ्यानहरू छन्।
इभी प्यासेन्जर भ्यानहरू १२, १४, १९ सिटर छन्। १५० देखि ४०० किलोमिटरको ड्राइभिङ रेन्ज भएको बिक्रेताहरूले जनाएका छन्।
फोटोनले शोमा इभी ट्रकहरू समेत राखेको छ। यस्ता ट्रकको माग पनि पछिल्लो समय बढ्न थालेको कम्पनीका एक्जुकेटिभ सेल्स सविन बुढाथोकीले बताए।
उनका अनुसार कम्पनीले १.४ टन क्षमताका इभी ट्रकहरू बिक्री गरिरहेको छ। एक वर्षयता उपत्यका र उपत्यका बाहिरका लागि समेत यस्ता ट्रकहरू बिक्री भइरहेका छन्।
सिजी मोटर्सका सेल्स एक्जुकेटिभ अशोक थापाले अहिले शोमा बिजुली पिकअप तथा प्यासेन्जर भ्यानहरूमा आकर्षण देखिएको बताए।
'धेरै जनामा बिजुली गाडीबारे चासो बढेको छ। बुझ्न आइराख्नु भएको छ। एकदमै राम्रो छ,' उनले भने।
सिजी मोटर्सले शोमा विभिन्न ब्रान्डका ११ देखि १९ सिटरसम्मका प्यासेन्जर बिजुली गाडी राखेको छ। छोटो दूरीका लागि १४ सिटरसम्मका भ्यान र लामो दूरीका लागि १५, १६ र १९ सिटर बिजुली गाडी रहेको थापाले बताए।
सिजी मोटर्सले ४४ लाखदेखि ८१ लाख रूपैयाँसम्मका बिजुली प्यासेन्जर गाडीहरू राखेको छ।