नाडा अटोमोबाइल्स एसोसिएसनले आयोजना गरेको ‘नाडा अटो शो २०२४’ मंगलबारदेखि सुरू भएको छ। यो प्रदर्शनी भदौ १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। १९९४ सालदेखि सुरू भएको यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
नाडाका अध्यक्ष करण चौधरीले उद्घाटन सत्रमा अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो भनाइ राखे। 'हामी निकै पारदर्शी छौं र यो क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्न सरकारसँग सहकार्य आवश्यक छ,' उनले भने।
चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने र अवैध व्यापार रोक्नका लागि बोर्डर टाइट गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, 'अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता र दीर्घकालीन योजना आवश्यक छ। हाइब्रिड र इभी सवारीसाधनहरूको प्रवर्द्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य छ।'
उनले अटोमोबाइललाई विलासी वस्तु नभएर, रोजगारी सिर्जना गर्ने र राजस्वमा उल्लेखनीय योगदान पुर्याउने क्षेत्रका रूपमा चित्रण गरे
'यो क्षेत्रमा २० प्रतिशत राजस्व योगदान रहेको छ भने करिब एक लाख व्यक्तिहरूले प्रत्यक्ष रोजगार पाएका छन्,' चौधरीले थपे।
अटो शोले विभिन्न अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नयाँ उत्पादनहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ। यस वर्ष पनि विद्युतीय र हाइब्रिड सवारीसाधनहरूको प्रदर्शन विशेष आकर्षणको रूपमा रहेको छ।