नेपाली बजारका लागि बहुप्रतिक्षित लक्जरी एसयुभी ‘जिकर एक्स’ भन्सार नाकामा आइपुगेको छ।
भदौ ११ गतेदेखि सुरू हुने नाडा अटो शोमा सोकेस गर्न सो एसयुभी नेपाल ल्याइएको हो।
जिकर एक्स भन्सार नाकासम्म आइपुगेको र अबको केही दिनमै काठमाडौं भित्रिने नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प स्रोतले बताएको छ।
कम्पनीले यसको रियर ह्विलर र अल ह्विल ड्राईभ भेरिएन्ट नेपाल ल्याउने जानकारी दिँदै मूल्य यसअघि नै सार्वजनिक गरिसकेको छ। जसअनुसार यो नयाँ प्रिमियम इभीको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ।
चिनियाँ अटो निर्माता जिली अन्तर्गतको प्रिमिमय इभी ब्रान्ड जिकरले आफ्नो एक्स मोडको सिंगल मोटर भेरिएन्टमा रियर–ह्विल–ड्राइभ तथा डुअल मोटरमा अल–ह्विल–ड्राइभ सिस्टम दिएको छ।
सो नयाँ कम्प्याक्ट एसयुभिमा जिकरले ६६ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ, जसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
साथै यसको रियर ह्विल ड्राइभमा २०० किलोवाट तथा अल ह्विल ड्राइमा ३१५ किलोवाट क्षमताको मोटर राखिएको छ।
सिंगल मोटर भेरिएन्टले २०० किलोवाट पिक पावर तथा ३४३ एनएम टर्क र डुअल मोटर भेरिएन्टले ३१५ किलोवाट पिक पावर र ५४३ एनएम टर्क जेनेरेट गर्दछ।
स्टार्ट गरेको ३.८ सेकेन्डमै यसले सून्यदेखी १०० किलोमिटर सम्मको गति लिन सक्छ।
जिकर एक्समा ५ वटा क्यामेरा, ५ मिलिमिटर वेब राडर र १२ वटा अल्ट्रा सोनिक सेन्सर समेत जडान गरिएको छ।
यो कारमा १४.६ इन्चको सेन्ट्रल स्लाइडिङ इन्फोटेन्मेन्ट स्क्रिन, २४.३ इन्चको हेड–अप–डिस्प्ले तथा ८.८ इन्चको इन्स्ट्रयुमेन्ट प्यानल राखिएको छ।
जिलीको सस्टेनेवल इलेक्ट्रिक आर्किटेक्चरमा तयार पारिएको यो एसयुभीको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम र उचाइ १५७२ एमएम छ भने ह्विलवेश २७५० एमएम लामो छ।