अर्थसचिव रामप्रसाद घिमिरेले अन्य मुलुकको तुलनामा इभीमा नेपालले चाँडो फड्को मारेको बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभमा बोल्दै उनले नेपालले चाँडो फड्को मारेको बताएका हुन्।
'हामी कहाँ विद्युत् सम्बन्धि नीतिगत व्यवस्थामा स्थिरता नै छ। अनुमतिको विद्युतीय सवारीमा हामीले जे जति फड्को मार्यौं, अन्य मुलुकको तुलनामा धेरै चाँडो गरेका छौं। यसैपटक पनि धेरै परिर्वतन हुन्छ भन्ने थियो। तर गरेनौं,' उनले भने, 'हामीले माथिल्लो र तल्लो वाटका गाडीको आधारमा कर लगाएका छौं। जबकी भारत जस्ता मुलुकले पनि मूल्यको आधारमा फरक कर नीति लिएको छ।'
त्यस्तै नीजि क्षेत्र सृजनशील हुने पनि उनले बताए।
'नयाँ सोच र सृजनशीलता निजी क्षेत्रबाटै आउने हो। किनभने यो स्वायत्त क्षेत्र हो। सार्वजनिक क्षेत्रले तिनलाई प्रतिस्पर्धी क्षमतामा चल्ने वातावरण बनाउने हो,' उनले भने, 'अहिले निजामती क्षेत्र प्रतिको सोच परिवर्तन भएको छ। तर, व्यक्तिगत सीमितताको कारण निजामति क्षेत्र प्रति अझै बुझाईमा केही सीमितता हुनसक्छन्।'
उनले इभीको नीति अस्थिर भएको भए बजारमा अहिले जत्तिको इभी नहुने पनि बताए।
'सरकारको दिगो लक्ष्य नै स्वच्छ उर्जामा जाने छ। सरकार यो सोचमै अडिग छ। हाम्रो नीति अस्थिर भएको भए बजारमा इभी गाडी अहिले जति हुन्थेन होला। आउँदा दिनमा स्वच्छ उर्जामा सरकारको नीति थप परिस्कृत हुँदै जानेछ। तपाईहरूले पनि बढिभन्दा बढि मूल्य वृद्धि हुने र रोजगारी सृजना हुने गरि काम हुनुपर्छ होला,' उनले भने।