बिवाइडी नेपालकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बिवाइडी गाडी सुरूमा भित्र्याउँदा बिक्री गर्न कठिन भएको बताएकी छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभमा बोल्दै उनले बिवाइडी बिक्री गर्न गाह्रो भए पनि हार नमानेको बताइन्।
'सुरूमा बिवाइडी गाडी बिक्री गर्नै गाह्रो भयो। दोस्रो चरणमा राष्ट्रपति विद्या भण्डारी लगायतलाई बिक्री गर्यौं। त्यो समय गाडी विक्रेतालाई ६, ७ करोड वार्षिक नोक्सान समेत भयो। तर पनि हार नमानी निरन्तरता दिएँ,' उनले भनिन्, 'मैले ५० प्रतिशत सेयर लिएर पनि यसलाई निरन्तरता दिएँ।'
त्यति बेला बिक्री कम हुँदा गिज्याउने गरेको पनि उनले बताइन्।
'पहिले हाम्रो सोरूमलाई बालमन्दिर जस्तै भन्थे। तर, अहिले उहाँहरू दंग पर्नुहुन्छ। बैंकहरुबाट समेत सुरूमा कर्जाको लागि समस्या थियो,' उनले भनिन्।
उनले सरकारले कर नीतिलाई अस्थिर बनाएकोमा आलोचना समेत गरेकी छन्। कर नीति अस्थिर भएपछि आफूहरूले स्थिरताको माग गरेको पनि उनले बताइन्।
'कर नीतिमा निकै अस्थिरता छ। दुई वर्षमा चार पटक कर नीति फेरिएको छ। कहिलेकाहीँ त ८० लाखको गाडी ४० लाख मूल्यमा पाइने जस्तो पनि हुन्छ। त्यसैले केही निश्चित समयसम्म हामीले नीतिगत स्थिरता माग्यौं र त्यसमा केही सम्बोधन भयो। अहिले नाडा अटो शोमा पनि धेरै बिजुली गाडी नै हुनेछन्। यसले पनि नीतिगत स्थिरता हुँदा कस्तो अवस्था आउँछ भनेर देखाउँछ,' उनले भनिन्।