नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युत बढी भएर बेचिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभको तेस्रो सत्र चलिरहेको छ।
यो सत्रमा इभीः पावर स्टाबिलिटी एन्ड पोलिसी कन्सिस्टेन्सी विषयमा छलफल चलिरहेको छ।
यही छलफलको क्रममा सहजकर्ता एवं सेतोपाटीका प्रधान सम्पादक अमित ढकालले घिसिङलाई फेरि लोडसेडिङ आउँछ कि आउँदैन भनेर प्रश्न गरेका छन्।
त्यसको जबाफमा उनले भने, 'अहिले हामीसँग ७००/८०० मेगावाट विद्युत बढी भएर बेचिराखेका छौं। लोडसेडिङ आउँदैन भनेर मैले भन्नै परेन।'
त्यस्तै भारतमा बिजुली पठाउन छोटो अवधिमा मात्रै नभएर लामो अवधिका लागि पनि सम्झौता भएको उनले बताए।
'हामीले हरेक वर्ष नवीकरण मात्रै गरेका छैनौं। पाँच वर्ष र लामो सम्झौता पनि भारतसँग भइरहेका छन्,' उनले भने, 'अहिले भारतमा माग धेरै छ। भारतबाट हामीले राम्रो मूल्य पाइरहेका छौं। अन्य मुलुकसँग पनि इन्टरकनेक्सन गर्न सक्छौं। भारतले अहिले चार सय मेगावाट माग गरिरहेको छ।'
त्यसैगरी नेपालमा प्रशारण लाइनका लागि ठूलो लगानी चाहिने पनि उनले बताए।
'हामीले पूर्व-पश्चिममा १.५ अर्ब डलर लागतमा ४ देखि ५ वर्षभित्र प्रशारण लाइन तयार गरिसक्छौं। प्रशारण लाइनको लागि ठूलो लगानी चाहिन्छ,' उनले भने।
यस सत्रमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिवाइडी नेपालकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ वक्ता छन्। सहजकर्ता अमित ढकाल छन्।