वातावरणविद् भुषण तुलाधरले इभी गाडीहरू चल्न थालेपनि वातावरण प्रदुषण घट्न नसकेको बताएका छन्।
शुक्रबार काठमाडौंको सोल्टी होटलमा सेतोपाटीले आयोजना गरेको इभी कन्क्लेभमा बोल्दै उनले इभी चल्न थालेपनि प्रदुषण उस्तै रहेको बताएका हुन्।
'इभी गाडीमा भए पनि प्रदूषित वातावरणमा कोही पनि जान चाहँदैन। गत वर्षको तथ्यांकअनुसार जम्मा तीन प्रतिशतको घरमा गाडी छ। यो वर्ष गाडी चलाउनेको संख्या बढ्यो भने ६ प्रतिशत घरमा गाडी पुग्यो होला। तर वातावरण एकदमै प्रदूषित बनेको छ। जसले शास फेर्छ उसलाई थाहा होला वातावरण प्रदूषण छ भनेर,' उनले भने।
उनले साझा यातायातले नयाँ बस थप्ने कुरा उठेपनि त्यसलाई ल्याएर राख्ने ठाउँ नरहेको बताएका हुन्।
'साझा यातायातमा ४० वटा बिजुली बसमा केही खर्च गर्यो। सरकारले पनि यसमा लगानी गरेको थियो। केही पैसा अझै बैंकमा छ। नयाँ बस ल्याउने कुरा उठ्छ, तर नयाँ बस ल्याएर कहाँ राख्ने कहाँ चार्ज गर्ने समस्या धेरै छ। त्यहि भएर ल्याएको छैन। ठूला गाडीका लागि रातभर चार्ज गर्नुपर्यो भने ठाउँ छैन्,' उनले भने।