सेतोपाटी सञ्चार प्रालिको आयोजनामा आज 'इभी कन्क्लेभ' हुँदैछ।
काठमाडौंको होटल सोल्टीमा दिउँसो २ बजेदेखि सुरू हुने यो कन्क्लेभ सेतोपाटीको होम पेजमा र फेसबुक फेसबुक पेजमा लाइभ प्रसारण हुनेछ।
कन्क्लेभस्थल होटल सोल्टीमा भने आमन्त्रित व्यक्तिहरूले मात्रै प्रवेश पाउनेछन्।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्क्लेभको उद्घाटन गर्नेछन्।
कन्क्लेभमा बिजुली गाडीमा तीव्रतर रूपमा विकास भइरहेका प्रविधिका साथै बिजुली गाडीको वर्तमान र भविष्यबारे छलफल हुनेछ।
बिजुली गाडी वितरक, उपभोक्ता, विज्ञ, सम्बन्धित निकायका अधिकारी र प्रतिनिधिहरूको उपस्थिति रहने यो कार्यक्रमका तीन सत्र हुनेछन्।
पहिलो सत्र 'इभीः प्रेजेन्ट ट्रेन्ड्स र फ्युचर इनोभेसन्स' शीर्षकमा हुनेछ। पत्रकार दिलभूषण पाठकले सहजीकरण गर्ने यो सत्रमा बिवाइडी नेपालका निर्देशक शाहिल श्रेष्ठ, सिजी मोटर्सका सिइओ हेमन्त अग्रवाल र बिजुली गाडी विज्ञ लोकेश ओलीले छलफल तथा बहस गर्नेछन्।
त्यस्तै दोस्रो सत्र 'इभीः द नेसनल कन्ट्रिब्युसन' विषयमा हुनेछ। पत्रकार सुदीप श्रेष्ठले सहजीकरण गर्ने सो सत्रमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, वातावरणविद भूषण तुलाधर र दी गो क्लिन इनर्जीका अध्यक्ष राजन रायमाझीले आफ्ना भनाइहरू राख्नेछन्।
अन्तिम सत्र 'इभीः पावर स्टाबिलिटी एन्ड पोलिसी कन्सिस्टेन्सी' पत्रकार अमित ढकालले सहजीकरण गर्नेछन्। यो सत्रमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिवाइडी नेपालकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठबीच छलफल तथा बहस हुनेछ।
कार्यक्रममा बिजुली गाडीमा भइरहेको तीव्र विकासबारे आमचासोका विषय, पर्यावरण र मानिसको जीवनमा यसले पार्ने सकारात्मक प्रभावबारे सचेतना बढाउने र यस्ता गाडीका पुराना ब्याट्रीहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे चर्चा गरिनेछ।
बिजुली गाडी प्रवर्द्धनका लागि आवश्यक बिजुली उत्पादन र पूर्वाधार निर्माण कसरी गर्ने भन्ने विषयमा पनि बृहत् छलफल हुनेछ।
'सेतोपाटी इभी कन्क्लेभ नेपालः सेपिङ द फ्युचर' कार्यक्रमको मुख्य प्रायोजक एनआइसी एसिया बैंक छ भने सहप्रायोजकहरूमा बिजुली गाडी कम्पनी बिवाइडी नेपाल र स्वच्छ ऊर्जा तथा पूर्वाधार निर्माण कम्पनी दी गो क्लिन इनर्जी हुन्।
त्यस्तै बिजुली गाडी कम्पनीहरू दीपल, ओमोडा/जेइको र एमजी नेपालसँग पनि सहकार्य छ। इन्टरनेट साझेदारमा वर्ल्डलिंक र डिजिटल साझेदारमा डिजिएज कम्पनी छ।