हालै महिन्द्राको पहिलो विद्युतीय एसयुभी सार्वजनिक भएको छ।
नेपाली बजारमा मात्रै नभई विश्व बजारमै अटोमोबाइल क्षेत्रमा लामो विरासत बोकेको महिन्द्राको 'एक्सयुभी-४००' पहिलो विद्युतीय एसयुभी हो।
नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी ग्रुप हो। कम्पनीले झन्डै एक दशकअघि विद्युतीय ह्याचब्याक गाडी भित्र्याएको थियो। गत महिना भने विद्युतीय एसयुभी भित्र्याएको हो।
महिन्द्राले एक्सयुभी-४०० को विद्युतीय र पेट्रोल/डिजेल मोडल छुट्ट्याउन गाडीमा हुने ब्याजिङमा केही परिवर्तन गरेको छ।
विद्युतीय एसयुभीमा भएको कम्पनीको ट्विनपिक लोगोलाई कपर रङ फिनिसिङमा दिइएको छ। पेट्रोल/डिजेल मोडलमा यो सिल्भर रङको हुन्छ।
कम्पनीले नयाँ पुस्ता लक्षित गर्दै विद्युतीय एक्सयुभी-४०० को बाहिरी आवरणमा विशेष ध्यान दिएको छ। गाडीमा डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्प छ भने पछाडिपट्टी एलइडी टेल ल्याम्प छ।
यो विद्युतीय एसयुभीमा १६ इन्चको डायमन्ड कट अलोय ह्विल छ। यसमा अगाडि र पछाडि दुवै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ।
एक्सयुभी-४०० को लम्बाइ ४,२०० एमएम, चौडाइ १,८२१ एमएम र उचाइ १,६३४ एमएम छ। यसमा २,६०० एमएम ह्विलबेस छ भने ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। गाडीको अगाडिपट्टी म्याकफर्सन स्ट्रट र पछाडिपट्टी ट्विस्ट-बिम सस्पेन्सन छ।
सि-सेग्मेन्टमा तयार भएको यो एक्सयुभी-४०० मा ३७८ लिटरको बुट क्षमता छ। यसलाई पछाडिको सिट ६०:४० मा फोल्ड गरेर ४१८ लिटरसम्मको बनाउन सकिन्छ।
एक्सयुभी-४०० मा डुअल-टोन इन्टेरिअर पाउन सकिन्छ। यसमा फर्स्ट इन क्लास सिंगल पेडल मोड छ। अगाडिपट्टी १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट र सोही आकारको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाउन सकिन्छ। यसमा ६ वटा स्पिकर छन्।
यो गाडीमा डुअल जोन अटोमेटिक कन्ट्रोल, क्रुज कन्ट्रोल, स्मार्ट स्टेरिङ सिस्टम जस्ता फिचरहरू छन्।
त्यस्तै एक्सयुभी-४०० इभीमा ६ वटा एयरब्याग, प्यासेन्जर एयरब्याग डिटेन्सन स्विच, टायर प्रेसर मनिटरिङ सिस्टम, इएसपिसहितको हिल होल्ड असिस्ट, रिअर भ्यू क्यामरा जस्ता दर्जन बढी सुरक्षाका लागि आवश्यक विशेषता पाउन सकिन्छ।
महिन्द्राको एक्सयुभी ४०० इभीमा ३९.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक छ। यसमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनर मोटर दिइएको छ जसले अधिकतम ११० किलोवाट पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ।
कम्पनीले यसको ब्याट्री प्याक र मोटरमा ८ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ भने भेहिकल वारेन्टी भनेर तीन वर्ष दिएको छ।
गाडीलाई जम्मा ८.३ सेकेन्डमा शून्यदेखि एक सय किलोमिटर प्रति घण्टाको रफ्तारमा पुर्याउन सकिन्छ। यो गाडीलाई फन, फास्ट र फियरलेस गरी तीन मोडमा कुदाउन सकिन्छ।
बजारमा महिन्द्राको एक्सयुभी ४०० इभी चार विभिन्न रङमा उपलब्ध छ- सेतो, कालो, ग्रे र निलो।
यो विद्युतीय एसयुभीको सुरुआती बजार मूल्य ५२ लाख ५० हजार रूपैयाँ तोकिएको छ।
सबै तस्विर : नवीनबाबु गुरुङ /सेतोपाटी