हुन्डाई मोटर कम्पनीले आफ्नो विद्युतीय सब-कम्प्याक्ट एसयुभी अनावरण गरेको छ। दक्षिण कोरियाली बहुराष्ट्रिय अटोमोटिभ उत्पादक हुन्डाईले बिहीबार 'अल-इलेक्ट्रिक इन्स्टर' अनावरण गरेको हो।
कम्पनीले यो गाडी आगामी सेप्टेम्बरसम्म सार्वजनिक गर्ने तयारी गरिहरहेको छ।
दक्षिण कोरियामा बिहीबारदेखि सुरू भएको ११ दिने 'बुसान अन्तर्राष्ट्रिय मोबिलिटी सो-२०२४' मा कम्पनीले नयाँ इन्स्टरको अनावरण गरेको हो।
इन्स्टरको डिजाइन निकै बोल्ड र 'फ्युचरिस्टिक' छ। यो गाडीमा थुप्रै परिष्कृत फिचरहरू पाउन सकिन्छ भने यसमा ड्राइभिङ अनुभव निकै सुरक्षित पाउन सकिने कम्पनीले जनाएको छ।
इन्स्टरले फास्ट चार्जिङ समर्थन गर्ने जनाइएको छ। र, एक पटकको पूरा चार्जमा ३५५ किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ।
हुन्डाईले विद्युतीय इन्स्टरको डिजाइन सन् २०२१ मा सार्वजनिक गरेको 'क्यास्पर' मोडलबाट प्रभावित भएर बनाएको छ। यसको अगाडि भागमा निकै फराकिलो डिजाइनको बम्पर र स्किड प्लेट दिइएको छ।
यसमा एलइडी डिआरएल पाउन सकिन्छ भने १५ इन्चको अलोय ह्विल दिइएको छ। यो १७ इन्चको अलोय ह्विल विकल्पमा पनि पाउन सकिन्छ। इन्स्टरमा १०.२५ इन्च डिजिटल क्लस्टर र १०.२५ इन्चकै इन्फोटेनमेन्ट टचस्क्रिन दिइएको छ।
यो विद्युतीय गाडीलाई डिसी चार्जरबाट चार्ज गर्न सकिन्छ। १२० किलोवाटको डिसी चार्जरबाट गाडीलाई चार्ज गर्दा जम्मा ३० मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतमा चार्ज गर्न सकिन्छ। त्यस्तै स्ट्यान्डर्ड १६ एम्पियरको चार्जरबाट चार घण्टामा गाडी चार्ज हुन्छ।
गाडी ४२ किलोवाट आवर र ४९ किलोवाट आवरको ब्याट्री प्याक विकल्पमा उपलब्ध छ। दुवै मोडलमा सिंगल मोटर दिइएको छ जसले क्रमशः ७१.१ किलोवाट र ८४.५ किलोवाट पावर जेनेरेट गर्छ। दुवैले १४७ एनएम टर्क जेनेरेट गर्छ।
इन्स्टरमा एड्भान्स्ड ड्राइभिङ असिस्टेन्ड सिस्टम, सराउन्ड भ्यू मिरर, पार्किङ कोलिसन एभोइडेन्स असिस्ट रिअर, ब्लाइन्ड स्पट कोलिसन एभोइडेन्स असिस्ट, ड्राइभर अटेन्सन वार्निङ, रिअर अकुप्यान्ट अलर्ट जस्ता फिचरहरू पाउन सकिन्छ।
गाडीको लम्बाई ३,८२५ एमएम, चौढाई १,६१० एमएम र उचाई १,५७५ एमएम छ। यसमा २,५८० एमएम ह्विलबेस दिइएको छ। गाडीको डिकी क्षमता भने २८० लिटरको छ जसलाई पछाडिको सिट स्प्लिट गरेर ३५१ लिटरसम्म बनाउन सकिन्छ।
कम्पनीका अनुसार इन्स्टर सुरूमा कोरियामा सार्वजनिक हुनेछ। त्यसपछि युरोपेली, मध्य-पुर्वी र एसिया प्यासिफिक देशहरूमा सार्वजनिक हुने बताइएको छ।