वीरगञ्ज एकीकृत भन्सार जाँच चौकी (आइसिपी) परिसरमा अहिले ५२७ वटा र सुख्खा बन्दरगाहमा ८७ वटा गाडी छन्। भन्सार यार्डमा जाँचपाँस नगरी रोकिएका यी गाडी अधिकांश पेट्रोलबाट चल्ने र महँगा हुन्।
भन्सार यार्डमा सन् २०२१ देखि सन् २०२२,२०२३ र २०२४ मा ल्याइएका गाडी छन्।
यीमध्ये ३१० वटा निजी प्रयोगका कार हुन्। त्यस्तै २२६ वटा च्यासिस तथा मालबाहक गाडी छन्। सुख्खा बन्दरगाहमा भने सबै निजी प्रयोगका कार छन्।
एक वर्षअघिसम्म आइसिपीमा १७ सय २५ वटा गाडी थिए।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासन डिलाराम पन्थीका अनुसार गत वर्ष यार्डमा रहेकासहित धेरै नयाँ गाडी पनि आयात भएर भन्सार पास भएको छ। यार्डमा रहेका गाडी छिटो जाँचपास गराउन आग्रह गरिएको र पछिल्लो समय यो क्रम बढेको उनले बताए।
गत वर्ष असारसम्म ६१३ वटा च्यासिस तथा मालबाहक गाडी र ११ सय १२ वटा कार/जिप/ भ्यान थिए।
एउटै गाडीको बजार मूल्य पाँच करोड रूपैयाँसम्म पर्ने गाडी भन्सार यार्डमा छन्। यस्ता महँगा गाडीको जाँचपास नहुदा धेरै राजस्व उठ्न बाँकी रहेको भन्सार अधिकृतहरूले बताएका छन्। पेट्रोलियम गाडीमा २८० प्रतिशतसम्म कर लाग्ने गरेको छ।