इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी चलाउँदा निकै सस्तो पर्ने देखिएको छ।
बिवाइडीको अट्टो ३ मा मेचीदेखि महाकालीको यात्रा तय गरेको एक समूहले यस्तो पुष्टि गरेको हो।
नौ दिनको यात्रामा सो समूहले दैनिक कति किलोमिटरको यात्रा गरे र बिवाइडी अट्टो ३ ले कति चार्ज र प्रतिकिलोमिटर कति किलोवाट खपत गर्यो भन्ने टिपोट गरेको थियो।
समूहले बिवाइडी अट्टो ३ इभीको सुपेरिअर भेरियन्टमा जम्मा दुई हजार सात सय ३४ किलोमिटर यात्रा गरेको थियो। यो भेरियन्टमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसले एक पटकको पूरा चार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
कम्पनीले दाबी गरे अनुसार नै यसले प्रदर्शनी गरेको समूहको भनाइ छ। समूहले चौथो दिन धनगढीदेखि बुटवल यात्रा गरेको थियो। कुल ४०१ किलोमिटरको यात्रा गर्दा ८९ प्रतिशत चार्ज खपत गरेको जनाएको छ। ११ प्रतिशत ब्याट्री बाँकी थियो। गाडीमा देखाएअनुसार ४६ किलोमिटर थप रेन्ज दिने थियो।
पुरै समय एसी खुला रहँदा समेत बिवाइडी अट्टो ३ ले ब्याट्री र चार्जमा गरेको दाबी सही रहेको टेस्ट ड्राइभमा निस्केको समूहको ठहर छ।
समूहले गरेको नौ दिनको यात्रामा गाडीले जम्मा ६३८ प्रतिशत ब्याट्री खपत गरेको थियो। यो भनेको जम्मा ३८२.८ किलोवाट आवर इनर्जी खपत हो। विद्युत युनिटको औसत मूल्य १२ रूपैयाँलाई आधार मान्ने हो भने लगभग पाँच हजार एक सय ५७ रूपैयाँ यसमा कुल खर्च भएको छ।
कुनै इन्धनबाट चल्ने गाडीले यदी प्रतिलिटर १५ किलोमिटर माइलेज दिन्छ भने यो दुई हजार सात सय ३४ किलोमिटर यात्राको लागि इन्धनमा ३१ हजार आठ सय ९६ रूपैयाँ कुल खर्च हुन्छ। यस आधारमा हेर्दा इन्धनबाट चल्ने गाडी र विद्युतीय गाडीमा लाग्ने खर्च अन्तर २६ हजार सात सय ३९ रूपैयाँ हुन्छ।
त्यस्तै कुनै इन्धनबाट चल्ने गाडीले यदि प्रतिलिटर १२ किलोमिटर माइलेज दिन्छ भने सोही यात्राको लागि इन्धनमा ३९ हजार आठ सय ७० रूपैयाँ कुल खर्च हुन्छ। यस आधारमा इन्धनबाट चल्ने गाडी र विद्युतीय गाडीमा लाग्ने खर्च अन्तर ३४ हजार सात सय १३ रूपैयाँ हुन्छ।
विद्युतीय गाडी चलाउँदा वातावरणलाई समेत असर कम पर्छ। समूहका अनुसार सो यात्रा अवधिभर इन्धनबाट चल्ने गाडी चलाउँदा ४१९.८५ किलोग्राम कार्बोन्डाइअक्साइड उत्सर्जन हुने थियो।
बिवाइडी अट्टो ३ को विशेषत र यसमा भएका फिचरहरूका कारण नौ दिनको यात्रा आरामदायी र सहज भएको समेत बताएको छ। यो गाडीलाई स्पोर्ट मोडमा समेत चलाउन सकिन्छ।
बाटोमा गाडी चार्जिङमा पनि धेरै समस्या खेप्नु नपरेको समूहको अनुभव छ। समूहले पोखरा, नेपालगञ्ज, धनगढी, बुटवल, बिर्तामोड र सिन्धुली (क्वालिटी बिच रिसोर्ट)मा बिवाइडीको चार्जरबाट चार्ज गरेको र हरिवन र इटहरीमा नेपाल विद्युत प्राधिकरणले जडान गरेको चार्जिङ स्टेसनबाट चार्ज गरेको जनाएको छ।
समूहको नौ दिनको यात्रा बिवाइडी अट्टो ३ मा सहज हुनुका साथै रमणीय रहेको बताएको छ। विद्युतीय गाडी चलाउँदा इन्धनबाट चल्ने गाडीको तुलनामा निकै सस्तो पर्ने पुष्टि गरेको छ। समूहले हरेक दिनको अनुभव बताउँदै युट्युबमार्फत भिडिओ पनि सेयर गरेको छ।
विद्युतीय गाडीमा यात्रा गर्दा चार्जिङ स्टेसनमा पुग्नु अगावै समय लिने र गाडीको रेन्जलाई ध्यानमा दिँदै यात्रा गर्न भने सल्लाह दिएको छ।