बजारमा हालै सांग्रिला मोटर्सले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले गत साता फ्रेन्च ब्रान्ड सिट्रोनको 'इसी ३ साइन' सार्वजनिक गरेको हो।
इसी ३ साइन गत वर्ष मात्रै बजारमा सार्वजनिक इसी ३ को अपग्रेडेड भेरियन्ट हो। यसमा २९.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक र ४२.५ किलोवाटको इलेक्ट्रिक मोटर जडितको छ।
गाडीको ब्याट्रीलाई १५ एम्पियरको होम चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा १० प्रतिशतदेखि १०० प्रतिशत पुग्छ भने ५० किलोवाटको डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
सिट्रोन इसी ३ ले एक पटकको पूरा चार्जमा ३२० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीको टप स्पिड १०७ किलोमिटर प्रति घण्टाको छ भने जम्मा ६.४ सेकेन्डमा गाडीलाई शून्यबाट ६० किलोमिटर प्रति घण्टाको रफ्तारमा कुदाउन सकिन्छ।
नयाँ सिट्रोन इसी ३ साइन भेरियन्टमा कम्पनीले केही विशेष फिचरहरू थप गरेको छ। जसमध्ये पहिलो हो फ्रन्ट एन्ड रिअर स्किड प्लेटहरू। यसले गाडीको बाहिरी डिजाइनमा आकर्षण थपेको छ।
त्यस्तै यसमा १५ इन्चको डुअल टोन अलोय ह्विल दिइएको छ। त्यसैगरी यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभिएम दिइएको छ। अर्को नयाँ फिचर भनेको यसमा रिअर वाइपर र वासर दिइएको छ। साथै रिअर डिफगर पनि दिइएको छ।
कम्पनीले इसी ३ साइन भेरियन्टमा रिभर्स पार्किङ क्यामेराको फिचर पनि थप गरेको छ। त्यसैगरी कम्पनीले इसी ३ साइन भेरियन्टको स्टेरिङ ह्विल पुरै लेदरले र्याप गरेर उपलब्ध गराएको छ।
गाडीको लम्बाई ३,९८१ एमएम, चौढाई १,७३३ एमएम र उचाई १,६०४ एमएम छ। गाडीको ग्राउन्ड क्लेरेन्स १७० एमएम छ। यसको ह्विलबेस २,५४० एमएम र तौल १३२९ केजी रहेको छ। गाडी भारी भए पनि यसमा भएको सस्पेनसनले ड्राइभिङ अनुभवमा सहजता थपेको छ।
गाडीको अगाडिपट्टी म्याकफर्सन स्ट्रट विग कोइल स्प्रिङ र पछाडि भागमा रिअर ट्विस्ट बिम विथ कोइल स्प्रिङ सस्पेन्सन दिइएको छ।
बाहिरीसँगै कम्पनीले गाडीको भित्री विशेषताहरू पनि विशेष ध्यान पुर्याएर सहजता प्रदान गर्ने ढंगमा डिजाइन गरेको छ।
यसको भित्री भागमा हार्ड प्लास्टिक प्रयोग भएको छ। जसले गाडीलाई बलियो बनाएको छ। सिटहरू पनि सहजता प्रदान गर्ने ढंगमा डिजाइन गरिएको छ। यसको ड्राइभर सिटलाई ६ विभिन्न ढंगमा एड्जस्ट गर्न सकिन्छ।
गाडीको अगाडि भागमा १०.२३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट दिइएको छ भने यसले एनड्रोइड अटो र एप्पल कार प्ले दुवै समर्थन गर्छ। साथै, यसमा डिजिटल क्लस्टर दिइएको छ। गाडीमा चार वटा स्पिकर पाउन सकिन्छ।
सुरक्षाको लागि गाडीमा एन्टिलक ब्रेकिङ प्रविधि दिइएको छ भने सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक जस्ता फिचर पनि दिइएको छ। ड्राइभर र अगाडिपट्टी पेसेन्जर सिटका लागि एयरब्याग पनि दिइएको छ।
अटोमोबाइल सेक्टरमा एक सय पाँच वर्षभन्दा पुरानो इतिहास बोकेको सिट्रोन एक फ्रेन्च ब्रान्ड हो। नेपालमा करिब तीन वर्ष अघि सांग्रिला मोटर्सले सिट्रोनको गाडी भित्र्याएको हो। छोटो समय सिट्रोनको गाडीले बजारमा राम्रो प्रदर्शनी गरिरहेको छ।
सन् २०२१ मा सिट्रोन सि५ एयरक्रस नेपालमा प्रवेश गरेको थियो। गत वर्ष कम्पनीले सि३ मोडल भित्र्याएको थियो। यसपछि यसकै विद्युतीय इसी ३ को वितरण थालियो। कम्पनीले गत साता भने इसी ३ कै नयाँ भेरियन्ट साइन सार्वजनिक गरेको हो।
गाडीको ब्याट्रीमा सात वर्ष अथवा एक लाख ४० हजार किलोमिटर र मोटरमा पाँच वर्ष अथवा एक लाख किलोमिटरको वारेन्टी पाइन्छ। कम्पनीले इसी ३ साइन पोलार ह्वाइट, प्लाटिनम ग्रे, कस्मो ब्लु र स्टिल ग्रे गरी चार वटा विभिन्न रंग विकल्पमा उपलब्ध गराउँदैछ।
कम्पनीले यो गाडीको सुरुआती मूल्य ३५ लाख ९९ हजार रूपैयाँ तोकेको छ। यो मूल्य कम्पनीले भित्र्याएको पहिलो ब्याचको स्टक रहँदासम्मको लागि रहने समेत उल्लेख गरेको छ।