वार्षिक ५ हजार गाडी एसेम्बल गर्न सक्ने क्षमतासहित हुन्डाईको एसेम्बली प्लान्ट सञ्चालनमा आएको छ।
नेपालमा हुन्डाईको लागि आधिकारिक वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले गत वैशाख २८ गते नयाँ प्लान्टको उद्घाटन गरेको हो।
शुक्रबार नवलपरासीको रामग्रामस्थित हुन्डाई मोटर एसेम्बली प्लान्ट पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालले यसको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने र लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहने बताए।
उनले नेपालमै औद्योगिक वातावरण सिर्जना गर्न सक्ने बताउँदै यसबाट आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवम् अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी समेत प्राप्त हुने बताए।
प्रधानमन्त्रीले भनेजस्तै हुन्डाईको नयाँ प्लान्टले पहिलो चरणमै दुई सय जनालाई रोजगारी दिने कम्पनीको भनाइ छ।
यसपछि दोस्रो चरणमा थप तीन सय गरी जम्मा पाँच सय जनालाई रोजगारी दिने तयारी कम्पनीको छ।
कम्पनीका अनुसार यो प्लान्टबाट वार्षिक एक सिफ्टमा काम गर्दा पाँच हजार वटा गाडी एसेम्बल गर्न सकिन्छ। दुई सिफ्टमा काम गर्ने हो भने प्लान्टको क्षमता १० हजार वटासम्म गाडी एसेम्बल गर्न सकिन्छ।
तर नेपालको बजार हिस्सा सानो छ। यसकारण क्षमता हुँदाहुँदै पनि कम्पनीले उत्पादन भने कम गर्नेछ। यससँगै रोजगारीको विषय पनि जोडिन्छ।
कम्पनीले एक सिफ्टमा पूर्ण रूपले काम गर्दा पाँच सय जनासम्मले रोजगारी पाउनेछन् भने थप सिफ्टमा काम गर्दा रोजगारी पाउनेको संख्या पनि बढ्नेछ।
हाल नेपालमा वार्षिक लगभग ५ हजार युनिट चार पांग्रे सवारी साधन (कार, जिप र भ्यान) को माग छ। तर बजारमा चार पांग्रे आपूर्ति गर्न दर्जनौं कम्पनी प्रतिस्पर्धामा छ। यस्तोमा हुन्डाई पनि प्रतिस्पर्धी सूचीको अब्बलमै पर्छ भन्दा फरक पर्दैन।
हुन्डाईले हाल बजारमा ३२ लाख रूपैयाँदेखिको गाडी बिक्री गर्दैछ। कम्पनीले विभिन्न एक दर्जन मोडलमा दुई दर्जन बढी भेरियन्टको गाडी बिक्री गर्दैछ। यी गाडीहरू भारतबाट आयात गरिएका हुन्।
नेपालमै गाडी उत्पादन गर्न सकिनेबारे अध्ययनपछि कम्पनीले करिब डेढ वर्षको अवधिमा एसेम्बली प्लान्ट स्थापना गरेको हो।
कुनै पनि सवारी साधन उत्पादनको प्रक्रिया पाँच चरणपछि पूरा हुन्छ। पहिलो चरणमा प्रेस सप/स्ट्याम्पिङ हुन्छ। यो भनेको गाडी बनाउन आवश्यक पाटपुर्जाहरू तयार गर्ने हो।
दोस्रो चरणमा बडी सप/व्लेडिङ हुन्छ। यो चरणमा कच्चा सामग्रीबाट तयार पारिएको पाटपुर्जालाई जोडिन्छ।
तेस्रो भनेको पेन्ट सप। यसमा पाटपुर्जालाई पेन्टिङ अर्थात् रंगाउने काम हुन्छ।
चौथो चरण एसेम्बली सप भन्ने हुन्छ। यसमा रंगाएको पाटपुर्जाहरूलाई एसेम्बली गरिन्छ र गाडी तयार पारिन्छ।
र, पाँचौं चरणमा टेस्ट लाइन पर्छ। यो भनेको गाडी बजारमा बिक्रीको लागि तयार भए/नभएको परीक्षणहरू हुन्छ।
लक्ष्मी मोटर कोर्पोरेसनका अनुसार नेपालमा हुन्डाईको एसेम्बली काम हुने हो। यो भनेको कम्पनीले उत्पादनको चरण उल्टो ढंगबाट सुरू गरेको छ। अर्थात्, यहाँ पाँचौं र चौथो चरणमा गरिने कार्य हुँदैछ।
कम्पनीले अहिले कम्प्लिट्ली नकडाउन (सिकेडी) अर्थात् छुट्टाछुट्टै पाटपुर्जा ल्याएर एसेम्बल प्लान्टबाट गाडी तयार गर्ने भएको हो।
पहिलो र दोस्रो चरणको काम गर्न मात्रै पनि छुट्टै उद्योग आवश्यक पर्छ। त्यसको लागि लगानीसँगै कच्चा पदार्थको आवश्यकता धेरै पर्छ। नेपाली बजारको माग धेरै छैन। त्यसैले कम्पनीले यी दुई चरणलाई छोड्दै एकैपटक चौथो चरणबाट काम सुरू गरेको हो।
कम्पनीले तेस्रो चरणमा हुने पेन्टिङको काम पनि गर्ने किसिमले सेटअप गरेको हो। एसेम्बली प्लान्टभित्र मेन एसेम्बली लाइन, सब-एसेम्बली लाइनसँगै टेस्ट लाइन छुट्याएको छ। पेन्टिङको लागि पनि छुट्टै क्षेत्रफल छुट्याएको छ।
करिब १० बिगाहमा फैलिएको हुन्डाईको प्लान्टमा १.१ किलोमिटर लामो रोड टेस्ट ट्रयाक पनि छ। यहाँ वाटर सावर टेस्ट बुथ र फाइनल इन्स्पेक्सनका लागि पनि विशेष ठाउँ छुट्याइएको छ।
उत्पादन गर्नुभन्दा अघि पनि थुप्रै अध्ययन-अनुसन्धान हुने गर्छ। गाडीको डिजाइन बनाइन्छ। डिजाइन पक्का गरिएपछि बल्ल उत्पादन विभागमा पठाइन्छ। उत्पादन विभागको काम सबै कच्चा पदार्थदेखि गाडी बनाउन आवश्यक पाटपुर्जाहरू बनाउने, वेल्डिङ गर्ने र गाडी तयार गर्ने हुन्छ।
गाडीको मोडल र भेरियन्ट बजारमा रूचाइन्जेल सोही डिजाइनमा उत्पादन गरिन्छ भने केही मोडल र भेरियन्टले बजार पाइरहेको हुँदैन। तिनको फेसलिफ्ट गरिन्छ। वा, उत्पादन नै रोकिन्छ। फेसलिफ्ट गर्न आवश्यक 'डाई' को मूल्य एक करोड रूपैयाँभन्दा बढी हुने गर्छ।
नेपाली र दक्षिण एसियाली बजार हेर्ने हो भने हुन्डाईको कुनै पनि नयाँ मोडलले तीनदेखि पाँच वर्ष राम्रो बजार पाइरहेको हुन्छ। यसपछि फेसलिफ्ट गरिन्छ। केही मोडलको भने बिक्री नै बन्द गरिन्छ।
कम्पनीका अनुसार उत्पादनको पहिलो र दोस्रो चरणमा काम गर्न वार्षिक गाडीको माग संख्या ५० हजारभन्दा बढी हुनुपर्छ। दोस्रो चरणममा हुने वेल्डिङको कामका लागि ९५ प्रतिशत स्वचालित प्रणालीहरूको आवश्यक पर्छ। यसका लागि पनि फरक लगानी आवश्यक पर्छ।
यसरी अध्ययन र यसपछि उत्पादन अन्तर्गतको पनि पहिलो दुई चरण निकै खर्चिलो भइदिन्छ। नेपालको लागि यी हाललाई आवश्यक नदेखिएको र बजार पनि नभएका कारण हुन्डाईले उत्पादनअन्तर्गत पाँचौं र चौथो चरणबाट काम सुरू गरेको बुझिन्छ।
लक्ष्मी मोटर कोर्पोरेसनले हाल नेपालमा हुन्डाईको भेन्यू बनाउँदै छ। यसपछि हुन्डाईले क्रेटा र आई-१० बनाउने तयारी गरिरहेको छ। यी मोडलहरू बनाउन आवश्यक सामग्रीहरू भारत र केही सामग्री दक्षिण कोरियाबाट आयात गरिँदैछ। प्लान्टमा अहिले तयार भएको १५७ वटा गाडी राख्न ठाउँ छ।
भविष्यमा कम्पनीले भेन्यू, क्रेटा र आई-१० सँगै अन्य मोडल पनि बनाउने जनाएको छ।
प्लान्टमा कर्मचारीहरूको सुरक्षाको लागि पनि विशेष ध्यान दिएको कम्पनीको भनाइ छ। यो एक अत्याधुनिक एसेम्ब्ली प्लान्ट रहेको समेत कम्पनीको दाबी छ।
हुन्डाईको गाडीहरू नेपालमै बन्ने भएपछि यसको मूल्यबारे पनि चर्चा छ। धेरैले गाडीको मूल्य घट्ने अनुमान लगाइरहेका छन्। तर यसबारे कम्पनीले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। मूल्य समायोजनबारे आन्तरिक छलफल भइरहेको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार हुन्डाईको नयाँ एसेम्बल प्लान्टले रोजागरी सिर्जनासँगै प्राविधिक विकासतर्फ नेपाल सचेत र निरन्तर रहेको विश्व बजारलाई बुझाउँनेछ।
हुन्डाईको नेपालमा इन्धनबाट चल्ने गाडीसँगै विद्युतीय गाडीहरू पनि उपलब्ध छन्। यतिबेला कम्पनीले देशभर रहेको आफ्नो १६ सोरुम, १९ सेवा केन्द्र र ४५ भन्दा बढी चार्जिङ स्टेसनबाट ग्राहकहरूलाई सेवा उपलब्ध गराउँदैछ।