ई-ड्राइभ लुम्बिनीले रूपन्देहीबाट ट्याक्सी तथा बाइकहरूको अनलाइन सेवा सुरू गरेको छ।
काठमाडौंबाट सेवा दिइरहेको ई-ड्राइभ नेपालसँगको सहकार्यमा लुम्बिनीले रूपन्देहीको भैरहवा र बुटवलबाट सेवा सुरू गरेको हो।
ई-ड्राइभ लुम्बिनीको बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले शुभारम्भ गरेका हुन्।
ई-ड्राइभ सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री महराले प्रविधिको विकासले ल्याएको परिवर्तनलाई भरपुर सदुपयोग गर्नुपर्ने बताए।
'गोरुगाडा र टाँगाबाट सुरू भएको यातायात अहिले विद्युतीय गाडीसम्म आएको छ यसको भरपुर सदुपयोग गर्नुपर्छ,' मुख्यमन्त्री महराले भने।
उनले नाफाको साथमा सेवालाई मुख्य केन्द्रमा राखेर व्यवसाय चलाउन आग्रह गरे।
'पुँजीवादी समाजमा जति माग भयो, त्यति मूल्य बढ्ने गर्छ तर, हामीले कम शुल्कमा धेरै सेवा दिन सक्नुपर्छ,' उनले भने।
महराले यात्रुको सुरक्षाको लागि बीमा अनिवार्य गर्न आग्रह गरे।
मुख्यमन्त्री महराले मान्छेको जीवनको गति सँगै विज्ञान र प्रविधिको गति पनि सँगसँगै आइरहेको र यसले मानिसको जीवनलाई सहज बनाइदिएको बताए।
नेपालको विकासको सबभन्दा ठूलो बाधक यथास्थितिवादमा रमाउनु रहेको उल्लेख गर्दै मुख्यमन्त्री महराले परिवर्तनमा रमाउनुपर्ने बताए।
'हिजो बाबु बाजेले जुन हलो जोत्थे, अहिले हामीले पनि त्यही हलो जोत्ने र जहाँ बसेका थिए, त्यही खादिएर बस्ने होइन, यथास्थितिवादमा बस्ने होइन परिवर्तनमा रमाउन सक्नुपर्छ,' मुख्यमन्त्री महराले भने।
ई-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले भैरहवा र बुटवलबाट एकैपटक सेवा सुरू गरिएको जानकारी दिए।
बुधबार पाँचवटा विद्युतीय गाडी सहित सेवा सुरू गरिएको र आगामी दिनमा गाडीहरू थप गर्दै जाने गुप्ताले बताए।
पेट्रोल र डिजलको नाममा नेपालको धन विदेश पठाउनुपर्ने बाध्यता र वातावरणमा समेत प्रतिकूल असर परिरहेको अवस्थामा ई-ड्राइभले वातावरण प्रदूषण हुनबाट जोगाउन थोरै भए पनि सघाउ पुर्याउने बताए।
बुधबारसम्म दुई हजार मोटरसाइकल राइडरहरूले ई-ड्राइभमा जोडिन आवेदन दिएको र त्यसमध्ये नौ सय राइडर जोडिइसकेको गुप्ताले बताए।
गाडीको लागि पनि ३५ जना राइडर ई-ड्राइभमा जोडिइसकेका छन्।
ई-ड्राइभ नेपालले विगत ६ महिनादेखि काठमाडौंमा सेवा दिँदै आएको छ। ई-ड्राइभ लुम्बिनीले बुटवल र भैरहवादेखि कपिलवस्तु, नवलपरासी र पाल्पासम्म सेवा दिने गुप्ताले बताए।
गुप्ताले नेपालमै तयार भएको राइड सेयरिङ एप र मुख्यगरी विद्युतीय गाडी, मोटरसाइकल र स्कुटरलाई प्राथमिकतामा राखेर सेवा सुरू गरिएको जानकारी दिए।
नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारले निर्धारण गरेको भाडा दरमा यात्रुहरूलाई सेवा दिइने गुप्ताले बताए।
'हाम्रो उद्देश्य यात्रुहरूले सहज सेवा पाउन भन्ने त छँदै छ, युवाहरू स्वदेशमै बसेर स्वरोजगार बनून् भन्ने पनि हो,' गुप्ताले भने।
ई-ड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले इलेक्ट्रिक साधनमा जोड दिने गरी सेवा सञ्चालन गर्दै आएको बताए।
उनले अनलाइन ड्राइभ सुरक्षित हुने भएकोले यात्रु र राइडरहरूलाई अनलाइन ड्राइभमा जान सुझाव दिए।
मास्केले अनलाइन सवारीमा दुर्घटनामा घाइते भए ७० हजार रुपैयाँ र मृत्यु भएको खण्डमा ७ लाख रुपैयाँ बराबरको बीमा समेत गरिएको बताए।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले स्वदेशमै केही गरौं भन्नेहरूका लागि स्वरोजगारको माध्यम बन्न सक्नुपर्ने बताए।
प्रधानमन्त्री कार्यालयका जनसम्पर्क विज्ञ बुद्धिबहादुर जिसीले नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण गरेर युवाहरूलाई विदेश पठाइरहेको अवस्थामा यो अभियान महत्वपूर्ण रहेको बताए।
बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेले एपको सहजताको लागि ध्यान पुर्याउन आग्रह गरे।