मोरङको बुढीगंगामा सबै किसिमका चार पांग्रे सवारी साधन उत्पादन हुने भएको छ।
सोमबार एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ नेपालको कोशी एन के मोटर्स प्रालि र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो।
चीनको फुजियन प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरीले जानकारी दिए।
‘हामीले चीनमा सम्झौता गरेका छौं,' उनले भने, 'सम्झौता भएसँगै अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिमा आधारीत चार पांग्रे विद्युतीय गाडी उत्पादन हुनेछ।'
नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको यस कम्पनीमा सुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए।
उनका अनुसार १ वर्ष भित्र सबै चार पांग्रे सवारीसाधन उत्पादन गरिने र कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७५० वटा गाडी उत्पादन गर्ने छ।