विश्वभरका सहरहरूलाई दिगो गतिशिलता प्रदान गर्न सक्षम बनाउने ब्याट्री स्वापिङ इकोसिस्टममा अग्रणी कम्पनी गोगोरो आइएनसी र नेबुला इनर्जीले आइतबार गोगोरो ब्याट्री स्वापिङ र गोगोरो क्रसओभर जिएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेका छन्।
पहिलो ब्याट्री स्वापिङ स्टेशन रहेको काठमाडौंको लाजिम्पाटस्थित आनन्द भवनमा आयोजित विशेष सञ्चार कार्यक्रममा उक्त घोषणा गरिएको हो।
नेबुला इनर्जी प्रा.लि. नेपालमा गोगोरो आइएनसीको आधिकारिक र विशेष साझेदार हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र गोगोरोका कार्यकारी यांग चेनले पहिलो गोगोरो ब्याट्री स्वापिङ सेवाको सुरुवात र अल्टिमेट दुईपांग्रे एसयुभी क्रसओभर स्मार्ट स्कुटर जिएक्स २५० संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै अध्यक्ष मनोज गोयलले गोगोरोको नवीन प्रविधि र दिगो गतिशिलतामार्फत् नेपालको शून्य उत्सर्जन लक्ष्यप्रतिको आफ्नो संकल्प र दृष्टिकोण प्रस्तुत गरे।
'नेपालको दुईपांग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनका लागि समान दृष्टिकोण भएको नेबुला इनर्जीसँग साझेदारी गर्न पाउँदा हामीलाई गर्व छ। नेपाल स्वच्छ ऊर्जा उत्पादन र उपयोगमा अग्रपंक्तिमा छ र दुई र चार पांग्रे सवारी साधनहरू अपनाउने कार्यलाई सक्रिय रूपमा प्रवर्द्धन गरिरहेको छ। यसमा हाम्रो साझेदारीले महत्त्वपूर्ण प्रभाव पार्ने निश्चित छ,' गोगोरोका प्रतिनिधिले भने।
गोगोरो र नेबुला इनर्जीले एकसाथ नेपालको दुईपांग्रे यातायात उद्योगको विद्युतीय रूपान्तरणलाई गति दिनको लागि समान दृष्टिकोण राख्छन्।
गोगोरो स्मार्ट ब्याट्रीहरूमा केही सेकेन्डमै ‘स्वाप एण्ड गो’को सुविधाजनक एक्सेस प्रदान गर्न गोगोरो ब्याट्री स्वापिङ अप्टिमाइज गरिएको छ।
गोगोरोको नयाँ क्रसओभर स्मार्ट स्कुटर जिएक्स २५० नेपालका राइडरहरूका लागि फराकिलो सिट र स्टोरेज स्पेस तथा राम्रो ग्राउन्ड क्लियरेन्सका साथ अप्टिमाइज गरिएको छ।
नेबुला इनर्जीले सुरुमा रणनीतिक बिटुबी साझेदारहरूलाई ब्याट्री स्वापिङ सेवाहरू प्रदान गर्नेछ र त्यसपछि हरेक २–३ किलोमिटरमा एउटा स्टेशन उपलब्ध हुनेगरी काठमाडौं उपत्यका वरपर गो स्टेशन स्थापना गर्ने योजना रहेको छ।
नेबुला इनर्जीले यसै वर्ष रिटेल र कर्पोरेट ग्राहकहरूका लागि गोगोरो स्मार्ट स्कुटरका नयाँ मोडेलहरू पनि उपलब्ध गराउनेछ। स्कुटरहरू दसैंदेखि रिटेल ग्राहकका लागि बिक्रीका लागि उपलब्ध हुनेछन्।
नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै गोगोरो गो स्टेशनहरू स्थापना गर्ने योजना बनाएको बताएको छ।