हिरो मोटोकर्पको चार वटा नयाँ उत्पादन नेपाली बजारमा भित्रिएका छन्।
केही समयअघि मात्र हिरो मोटोकर्पको आधिकारिक वितरक छनोट भएको सिजी ग्रुपले चार नयाँ दुई पांग्रे भित्र्याएको हो।
नयाँ मोडलहरूमा तीन मोटरसाइकल र एक स्कुटर छन्।
एक्सप्लस २०० ४भी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलका नयाँ मोडल र ११० सिसीको जूम स्कुटर सिजी मोटर्सले आइतबार एक कार्यक्रममाझ सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार स्प्लेन्डर प्लसको मूल्य दुई लाख ६ हजार ९ सय रूपैयाँ छ।
त्यस्तै सुपर स्प्लेन्डरको दुई लाख ४० हजार ५ सय रूपैयाँ पर्छ। एक्सप्लस २०० ४भी चार लाख ५० हजार रूपैयाँमा आउँछ। र, जूम स्कुटरको भाउ दुई लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
आगामी दिनमा यी उत्पादनलाई सिजीले आफै एसेम्बल समेत गर्ने जानकारी दिएको छ।
एसेम्बल गर्न सिजीले नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा कारखाना बनाउँदै छ।
यो कारखानामा एक वर्षमा ७५ हजार वटा दुई पांग्रे एसेम्बल गर्ने क्षमता छ।
ग्राहकको माग अनुसार उत्पादन बढाउँदै लैजानुका साथै सर्भिस सेन्टर पनि विस्तार गर्ने कम्पनीले जानकारी दिएको छ।
आगामी तीन महिनाभित्र सय वटा भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोलिने पनि कम्पनीले जनाएको छ।
यसअघि एनजिएमले हिरोका दुई पांग्रे बिक्री वितरण गर्दै आएको थियो।