चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने कार्डमा प्रिन्टिङको समस्या देखिएपछि कार्ड नेपाल आइपुगे पनि छपाइ सुरू हुन सकेको थिएन।
अब भने लाइसेन्स छपाइको लागि बाटो खुलेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार नयाँ आएका कार्डमा सफलतापूर्वक कार्ड प्रिन्टिङको परीक्षण भएको छ।
विभागले बुधबार गरेको परीक्षणअनुसार नयाँ कार्डमा विभागमा भएकै प्रिन्टिङ मेसिनबाट नमूना लाइसेन्स छापेको हो। बिहीबार केही थप नमूना कार्ड छापेर यसलाई परीक्षणको लागि पठाइनेछ।
'पर्सनलाइजेसनमा समस्या भएपछि कार्ड छाप्न सकिरहेका थिएनौं। कार्डमा हुने चिप्समा चालकको विवरण इन्कोड हुनुपर्छ। त्यसमै समस्या थियो। चिप्सको भर्सन फरक परेको थियो भन्ने छ,' उनले भने, 'युनिभर्सल की मगाएर परीक्षण गरेपछि त्यो सफल भएको छ। अब लाइसेन्स छपाइ पनि छिट्टै सुरू हुनेछ।'
उनका अनुसार युनिभर्सल की भएपछि जुनकुनै मेसिनले कार्ड सपोर्ट गर्छ। पहिले विभागले पर्सनलाइज्ड की प्रयोग गरिरहेको थियो।
विभागमा चलिरहेको मास प्रिन्टिङ मेसिनले नयाँ आएको कार्डलाई रिड गर्न नसकेपछि प्रिन्टिङमा समस्या आएको थियो। नयाँ ल्याइएको कार्डमा छपाइ गर्नलाई सोही कार्ड अनुसार मेसिनलाई पर्सनलाइज गर्नुपर्ने बताइएको थियो।
विभागले भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्सबाट प्रिन्टर खरिद गरेको थियो। नयाँ कार्ड जर्मनी कम्पनी मुहेल्बर आइडी सेवाले पठाएको हो। योभन्दा अघि विभागले मद्रासले नै उपलब्ध गराएको कार्ड प्रयोग गर्दै आएको थियो।
पछि सम्झौताअनुसार विभागले १२ लाख कार्ड जर्मनी कम्पनीबाट खरिद गरेको हो। कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो। पहिलो चरणमा कम्पनीले गत पुस अन्तिम साता ६ लाख कार्ड पठाएको थियो। फागुनमा बाँकी ६ लाख कार्ड पठाएको हो।
कार्ड प्राप्त भएपछि विभागले नयाँ लाइसेन्स कार्डका केही प्रति नमूना छपाइ गर्न खोजेको थियो। छपाइ गरेको र नयाँ आएको कार्डकै पनि गुणस्तर जाँच्न पुनः मुहेल्बरलाई पठाउनुपर्ने हुन्छ। जर्मनमै भएको ल्याबबाट परीक्षण भई कार्ड र छपाइ ठिक भए अन्य लाइसेन्स छपाइ काम सुरू गर्न सकिन्छ।
यसको लागि विभागले नमूना छपाइ गर्न खोजेको थियो। तर सो परीक्षण गर्नेबेलै समस्या देखिएको थियो।
विभागका अनुसार मुहेल्बर आइडी सेवालाई मद्रास प्रिन्टर्सले कार्ड छाप्नु अघि प्रिन्टर अनुसार कार्ड पर्सनलाइज गरी त्यसमा हुनुपर्ने विशेषता (स्पेसिफिकेसन) पठाएको थियो। तर पछि लाइसेन्स कार्डमा प्रयोग भइरहेको चीपभन्दा फरक चीप भएको कार्ड आइपुगेको थियो। यसै कारण छपाइमा समस्या देखियो।
विभागका महानिर्देशक रिजालका अनुसार समस्या देखिएपछि दुवै पक्षसँग छलफल गरियो। यसको समाधान 'युनिभर्सल की' बाट हुने पत्ता लागेपछि यसको प्रयोगलाई अगाडि बढाइएको हो।
अहिले विभागसँग करिब ४० हजार पुराना स्मार्ट कार्ड बाँकी छन्। ती कार्डमा अत्यावश्यक वर्गका लाइसेन्स छपाइ हुँदैछ।
विभागका अनुसार १४ लाख बढी सेवाग्राहीहरू नयाँ कार्डको प्रतीक्षामा छन्। प्रत्येक दिन चार हजारभन्दा बढीले नयाँ कार्ड वा नवीकरणको लागि आवेदन दिइरहेका छन्।
करिब दुई वर्षदेखि सर्वसाधारणको लाइसेन्स छपाइ र वितरण रोकिएको छ। नयाँ कार्डमा छपाइ सुरू गरेपछि भने लाइसेन्स वितरणमा केन्द्रीत हुने विभागको भनाइ छ।