नाडाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठबीच भेटवार्ता भएको छ।
बिहीबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री महासेठसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको हो।
भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सो मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे सुझावहरू पेस गर्दै त्यसको समुचित सम्बोधन र समाधानका लागि आग्रह गरे। नाडाले सडक मर्मतसम्भार, सवारी साधन कर, लाइसेन्स वितरण, सवारी साधनको वर्गीकरण, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको सन्दर्भ लगायत गरी २६ बुँदामा आफ्नो सुझाव पेस गरेको हो।
नाडाले दुई पांग्रेलाई सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रूपमा लिन राय दिएको छ। त्यस्तै सवारी साधनहरू सडकमा गुडेपछि मात्र सवारी कर लाग्ने व्यवस्था लागू गर्न, अटोमोबाइल कम्पनीहरूको दर्ता प्रक्रिया अगाडि बढाउन, सवारी साधनको कर अनलाइनमार्फत् भुक्तानी गर्न सकिने प्रणाली लागू गर्न र सवारी साधन पैठारीकर्ताहरूको लागि छुट्टै डेस्कको स्थापना गर्न पनि सल्लाह दिएको छ।
रसिदमा एकरुपता हुनुपर्ने, मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनुपर्ने र दुईपांग्रे सवारी साधनहरूको वर्गीकरण हुनुपर्ने जस्ता सुझाव नाडाको छ। यससँगै उच्चस्तरका सवारी साधनहरूको लागि हरियो स्टिकर दिने प्रक्रियालाई अघि बढाउन पनि सुझाव दिइएको छ।
हाल पार्किङस्थलको अभाव हुँदा यसलाई सम्बोधन गर्न पनि नाडाले आग्रह गरेको छ। चार्जिङ स्टेसनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने सुझाव नाडाको छ।
सवारी चालकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्न र अटोमोबाइल वर्कशपहरूमा रोजगारीको व्यवस्था गर्न पनि नाडाले सरकारलाई सुझाव दिएको छ। नाडाले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माणसँगै सिमेन्ट-मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा मन्त्री महासेठ सामु सुझाव पेस गरेको छ।
छलफलमा सहभागी नाडाका सचिव विक्रम सिंहानियाले एक प्रस्तुतीकरणमार्फत् यी विषयहरूमा जानकारी गराए।
छलफलको अन्त्यमा यातायात मन्त्री महासेठले सवारी साधनहरूको सिसिको आधारमा इम्बोस्ड नम्बर प्लेट जारी गर्न सकिने बताए। उनले प्रदेश तहमा समस्याहरू रहेको बताउँदै प्रदेश सरकारमा नै सुझावहरू राख्न सकिने बताए।
त्यस्तै सवारी साधन पार्किङको सुविधा सम्बन्धित वडा कार्यालयहरूले गर्ने बताए। उनले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरूका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन व्यक्त गरे।
मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरू समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा र उपाध्यक्ष राजनबाबु श्रेष्ठको उपस्थिति थियो।