नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेण्टी दायित्व अब आफूले ब्यहोर्न नसक्ने बताएको छ।
कम्पनीले सोमबार एक प्रेश नोट जारी गर्दै उक्त जानकारी दिएको हो।
हिरो मोटोकर्पद्वारा उत्पादित मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नेपाल जेनरल मार्केटिङले उत्पादक कम्पनीको निर्देशन बमोजिम वारेण्टी सुविधा दिँदै आएको थियो।
तर, उत्पादक कम्पनीले विगत दुई वर्षदेखि कम्पनीलाई स्पेयर पार्टस्को आपूर्ति आंशिक रूपमा गर्दै आएको र विगत एक वर्ष यता आपूर्ति बन्द नै गरेकोले वारेन्टी दायित्व आफूले ब्यहोर्न नसक्ने जनाएको हो।
मोटरसाइकल तथा स्कुटरको स्पेयर पार्टस्को आपूर्ति रोकेको कारण ग्राहकले वारेण्टी सुविधाबाट बन्चित हुन गई दुःख झेल्नु परेको महशुस कम्पनीले गरेको बताएको छ।
कम्पनीले भनेको छ, 'हिरो मोटोकर्पले स्पेयर पार्टस्को आपूर्ति बन्द गर्दा पनि आफ्नो स्टकबाट वारेण्टी सुविधा अन्तर्गत स्पेयर पार्टस् उपलब्ध गराई आएको तर हिरो मोटोकर्पले वारेण्टी बापत हामीलाई भुक्तानी दिनु पर्ने करोडौं रूपैयाँ विगत दुई वर्षदेखि रोकी राखेको छ।'
वारेण्टी दिने दायित्व उत्पादक कम्पनीको भएता पनि कम्पनी आफैंले समस्याको समाधान गर्ने प्रयास गरिरहेकोमा मोटोकर्पले स्पेयर पार्टस्को आपूर्ति नगरेको र विगत दुई वर्षदेखि वारेण्टी क्लेमको भुक्तानी रोकी राखेकोले उत्पादक कम्पनीको वारेण्टीको दायित्व अब आफूले नब्यहोर्ने कम्पनीको भनाइ छ।
स्पेयर पार्टस्को भुक्तानी पाएपछि मात्र ग्राहकलाई वारेण्टी सुविधा दिने कम्पनीले प्रेश नोटमार्फत् जानकारी दिएको छ।