नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के ३ र टाटा टियागो इभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी भएको जनाएको छ।
उक्त इभीहरू नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाली बजारमा उपलब्ध टियागो इभीको भेरियन्टहरूमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरू नाडा अटो शो देखि नै 'इन्ट्रोडक्टरी' मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ।
यसबीचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो इभीको मूल्य यथावत नै रहने कम्पनीले बताएको छ।
अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको मूल्य २५ लाख ४९ हजार रूपैयाँदेखि २७ लाख ९९ हजार रूपैयाँ छ भने नेक्सन इभी ४५ लाख ९९ हजार रूपैयाँमा उपलब्ध छ।