नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायातसम्बन्धी विभिन्न समस्याहरू समाधान गर्न आवश्यक सुझावसहितको पत्र प्रहरी प्रधान कार्यालयलाई बुझाएको छ।
महासंघका अध्यक्ष विजय बहादुर स्वाँर लगायतको टोलीले मंगलबार प्रहरी महानिरीक्षक मान वसन्त कुवॉंर, प्रहरी अतिरिक्त महानिरीक्षक कार्यविभाग प्रमुख श्याम ज्ञावला र प्रहरी नयाव महानिरीक्षक प्रवक्ता भीम प्रसाद ढकाललाई दुर्घटना न्यूनीकरण यातायात सञ्चालनमा सहजीकरणका लागि ११ बुँदे सुझाव बुझाएको हो।
महासंघले सवारी ऐन २०४९ विपरीत दर्ता भएका तर प्रयोजन विपरीत सार्वजनिक सवारी साधनसरह यात्रु र मालसामान ओसारपसार गर्ने/गराउने कार्यलाई रोक लगाउन अनुरोध गरेको छ।
त्यस्तै देशभरीका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा विश्रामस्थल (रिफ्रेश सेन्टर) राखेर सोही स्थानमा चेकिङ गर्ने व्यवस्था मिलाउन महासंघले अनुरोध गरेको छ।
प्रस्थान विन्दुबाट चेकिङ भएर सञ्चालन भएको सवारीलाई विश्रामस्थलमा चेकजाँच गर्ने वा गन्तव्य स्थानमा चेकजाँच गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ।
यी हुन् महासंघले प्रहरी प्रधान कार्यालयलाई बुझाएको पत्रमा उल्लेख भएका ११ बुँदे सुझावहरूः
१. देशभरीका राष्ट्रिय राजमार्गमा सहायक राजमार्गमा विश्रामस्थल (रिफ्रेश सेन्टर) राखी सोही स्थानमा चेकिङ गर्ने व्यवस्था मिलाई दिनहुन अनुरोध गरिन्छ।
२. प्रस्थान विन्दुबाट चेकिङ भइ सञ्चालन भएको सवारीलाई विश्राम स्थलमा चेकजाँच गर्ने वा गन्तव्य स्थानमा चेकजाँच गर्ने व्यवस्था मिलाई दिन हुन अनुरोध गरिन्छ।
३. दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरीत रूट इजाजतबिना सञ्चालन भएका सवारी साधनमा रोक लगाउने व्यवस्था मिलाई दिन हुन अनुरोध गरिन्छ।
४. वि. पि. राजमार्ग लगायत देशका विभिन्न भागमा समय सारणी (टाइम कार्ड) लागू गरी मापदण्ड विपरीत सञ्चालन भएका सवारी साधनलाई रोक लगाउने व्यवस्था मिलाई दिन हुन अनुरोध गरिन्छ।
५. एउटै प्रदेश जिल्लाहरूमा सार्वजनिक यात्रुबाहक र मालबाहक सवारी साधन चेकिङ गर्ने कार्यलाई हटाई सहजीकरण गर्ने व्यवस्था मिलाई दिन हुन अनुरोध गरिन्छ।
६. दुर्घटना न्यूनीकरणका लागि प्रदेश जिल्ला स्तरीय सचेतना अभियान चलाई सरोकारवालासँग सहकार्य गर्ने व्यवस्था मिलाई दिन हुन अनुरोध गरिन्छ।
७. दुर्घटनापछि सवारी साधनलाई २४ घण्टाभित्र सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानुनी व्यवस्थालाई कडाईका साथ लागू गर्ने व्यवस्था मिलाई दिन हुन अनुरोध गरिन्छ।
८. सवारी ऐन २०४९ विपरीत दर्ता भएका तर प्रयोजन विपरीत सार्वजनिक सवारी साधन सरह यात्रु र मालसामान ओसार-पसार गर्ने गराउने कार्यलाई रोक लगाउन अनुरोध गरिन्छ।
९. भारतीय मालबाहक सवारी साधनले देशभर निर्विवाद रूपमा यात्रु तथा मालसामान ढुवानी गर्ने गरेको हुँदा सवारी साधनलाई पूर्ण रूपमा रोक्ने व्यवस्था मिलाई दिनु अनुरोध गरिन्छ।
१०. गुणस्तरहिन सडकका कारण काठमाडौं उपत्यका लगायत देशभर सञ्चालनमा रहेका सवारी साधन सडकमा नै भासिने गरेकोले क्षतीग्रस्त सवारी साधनको क्षतीपूर्तीको व्यवस्थाका साथै सम्बन्धित निकायलाई सडकको गुणस्तर चेकजाँच गरेर मात्र यातायात सञ्चालन गर्ने व्यवस्था मिलाई दिनु हुन अनुरोध गरिन्छ।
११. सार्वजनिक यातायात सञ्चालन हुने सडकहरूमा कानुन विपरीत छाडा चौपाया छोडने, विस्कुन सुकाउने र मर्निङ वाक गर्ने कार्यले दिन-प्रतिदिन सडक दुर्घटनाको जोखिम बढ्दो अवस्थामा रहेकोले उक्त कार्यमा पूर्ण रूपमा रोक लगाउने व्यवस्था मिलाई दिनु अनुरोध गरिन्छ।