नेपाली बजारमा हिरो मोटोकर्पको आधिकारिक वितरकको रूपमा सिजी मोटर्स छनौट भएको छ।
कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स बनेको जानकारी गराएको हो।
यसअघि नेपालमा हिरो मोटोकर्पको आधिकारिक विक्रेता ज्योति कम्पनीको एनजिएम थियो।
नेपालमा हिरो मोटोकर्प सन् २०१४ मा प्रवेश गरेको हो। हिरोका उत्पादनमध्ये सुपर स्प्लेन्डर र एक्सप्लस २०० बढी चल्तीमा छन्।
हिरो मोटोकर्प र सिजी मोटर्सले संयुक्त रूपमा नेपालमै उत्पादन एसेम्बल गर्न लागि पूर्वाधार समेत बनाउने भएका छन्। यसले नेपालमा नयाँ लगानी भित्र्याउनुका साथै भविष्यमा रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा सिजी मोटर्सको छ।
सिजीका अनुसार एसेम्बल गर्ने प्लान्ट नवलपुरमा स्थापना गर्ने र यहाँबाट वार्षिक ७५ हजार वटा दुईपांग्रे उत्पादन गर्ने योजना छ।
हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमखु सञ्जय भानले चौधरी समूहसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताएका छन्।
चौधरी समूहले हिरो मोटोकर्पको बजार विस्तार गर्न मद्दत गर्नेमा सकारात्मक रहेको पनि उनले बताएका छन्।
‘नेपाल हाम्रा लागि महत्त्वपूर्ण बजार हो। हामी हाम्रो उत्कृष्ट सेवा र उत्पादनहरू बजार पुर्याउने कोसिसमा छौं,’ उनले भने, ‘यो सहकार्यसँगै नयाँ उत्पादनहरू बजार प्रवेश गराउनेछौं।’
चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि हिरो मोटोकर्पसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताएका छन्।