नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ समेत सदस्य रहेको यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन यातायात व्यवस्था विभागलाई बुझाएको छ।
समितिकातर्फबाट अध्यक्ष विजय बहादुर स्वाँरले विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई प्रतिवेदन बुझाएका हुन्।
यातायात क्षेत्रमा भएका चुनौतिहरू र त्यसलाई समाधान गर्न आवश्यक सुझावहरूसहित प्रतिवेदन तयार पार्न गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णय भएको थियो। तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा ७ कार्यदल समिति गठन गरेका थिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष सिटौलाका अनुसार यातायात क्षेत्रलाई सुधार गर्न आवश्यक सुझावहरूलाई ६ खण्डमा विभाजन गरी प्रतिवेदन तयार पारिएको छ।
‘यातायात क्षेत्रमा सुधारको आवश्यकता छ। मुलुक संयीयतामा प्रवेश गरेसँगै यातायात क्षेत्रमा पनि परिवर्तन आएको छ। यातायात क्षेत्र तीन तहमा विभाजन भइसकेको छ,' उनले भने, 'पहिलेको तुलनामा सवारी साधनको चाप बढ्दो छ। यस्तो अवस्थाा अझै पनि हामी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार चलिरहेका छौं। यसमा थुप्रै परिवर्तनहरू आवश्यक छ। यातायात क्षेत्रमा आवश्यक रहेका सुधार सहित प्रतिवेदन तयार पारिएको हो।’
उनका अनुसार विभिन्न निकायसँगको समन्वय र विशेष छलफलहरूपछि करिब एक वर्षको समय लगाएर प्रतिवेदन तयार पारिएको हो। 'भद्रगोल अवस्थामा रहेको यातायात क्षेत्रलाई व्यवस्थित गर्न प्रतिवेदनमा उल्लेख गरिएका सुझाव प्रभावकारी हुन सक्ने मा हाम्रो विश्वास छ,' उनले थप भने।
विभागका महानिर्देशक रिजालका अनुसार प्रतिवेदनमा सवारी चालक अनुमति पत्र व्यवस्थापन, सार्वजनिक यातायात व्यवस्थापन, सार्वजनिक यातायाको बीमा व्यवस्था, शहरी सार्वजनिक यातायात व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण र प्रदूषण नियन्त्रणका लागि अपनाउन सक्ने सुझावहरू उल्लेख छन्।
प्रतिवेदनलाई विभागबाट छिटोभन्दा छिटो अध्ययन गर्ने उनले प्रतिबद्धता जनाए। समितिले प्रतिवेदनको अन्तिम मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पनि पेस गर्ने तयारीमा छ।