चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा १२ अर्ब ७३ करोड रूपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको छ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार विद्युतीय गाडीको आयात उल्लेख्य बढेको देखिएको छ।
सरकारले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिँदै न्यून भन्सार शूल्क लगाएपछि यस्ता गाडीको आयात बढेको हो। विभागका अनुसार ६ महिनाको अवधिमा पाँच हजार १०७ वटा विद्युतीय सवारी आयात भएका छन्।
यसमध्ये १० प्रतिशत मात्रै भन्सार शूल्क रहेका ५० किलोवाटसम्मका गाडी दुई हजार ५६ वटा आयात भएको हो। यसैगरी २९ सय ७० वटा ५१ किलोवाट क्षमतादेखि १०० किलोवाट क्षमताका विद्युती सवारी आयात भएको छ।
यो गाडीको चालु वर्षमा भन्सार महशुल बढाइएको थियो। यस्तो गाडीमा १५ प्रतिशत भन्सार महशुल र १० प्रतिशत अन्तशुल्क लगाइएको छ। १०१ देखि २०० किलोवाट क्षमताका ६८ वटा गाडीको आयात भएको छ। यस्तो गाडीमा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ।
त्यस्तै २०० किलोवाटभन्दा माथिका गाडी पनि १३ वटा आयात भएका छन्। यस्ता गाडीमा ४० देखि ६० प्रतिशतसम्म भन्सार र ३५ देखि ६० प्रतिशतसम्म अन्तशुल्क लाग्ने गरेको छ।
चालु वर्षको ६ महिनामा विद्युतीय गाडी आयातबाट मात्रै पाँच अर्ब राजस्व संकलन भएको छ।