विद्युतीय सवारी साधन कम्पनी बिवाइडीको ललितपुरमा नयाँ शोरूम उद्घाटन भएको छ।
बिवाइडीको ललितपुरका लागि आधिकारिक वितरकको रूपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा बिहीबार नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरूमको उद्घाटन गरेका हुन्।
शोरूममा स्पोर्टी इलेक्ट्रिक एसयूभी बिवाइडी एट्टो ३ र भर्सटाइल बिवाइडी डल्फिन लगायत विद्युतीय साधन हुने कम्पनीले जनाएको छ।
शोरूम उद्घाटन अवसरमा कम्पनीका नेसनल सेल्सहेड प्रकाश तुलाधरले आफ्नो उत्साह बाँड्दै भने, 'ललितपुरमा यो नयाँ शोरूम उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौं। यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवर्द्धन गर्न एक हबको रूपमा समेत काम गर्छ।'
उनले आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्र समेत स्थापना गरिने जानकारी दिए। यो केन्द्रमा विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरू रहने कम्पनीले जनाएको छ।
यो नयाँ शोरूमसहित बिवाइडीका अब नेपालभर १२ शोरूम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन्।