भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा संघीय, प्रदेश र स्थानीय सरकारबीच एकरूपता कायम गर्न गृहकार्य भइरहेको बताएका छन्।
सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा बिहीबार आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटना न्यूनीकरण गर्न एकरूपता हुने गरी पहल भइरहेको बताएका हुन्।
मन्त्री ज्वालाले अब बन्ने ऐनमा एकरूपता ल्याउन प्रदेश सरकारसँग यस विषयमा तीनपटक बैठक बसिसकेको बताए। प्रदेश सरकारका यातायातमन्त्री र सचिवसँग थप छलफल गर्न यही माघ ७ गते बैठक राखेको पनि उनले जानकारी दिए।
व्यवसायी र मजदुर संगठनको ड्राइभिङ स्कुल खोल्ने प्रस्ताव ऐनमा व्यवस्था गरिएको बताउँदै उनले भने, 'ड्राइभिङ स्कुल वा कुनै संस्था स्थापना गर्ने गरी ऐनमा संशोधन गर्ने गरी हामीले तयारी थालेका छौं।'
छलफलमा मन्त्रालयका सचिव केशव शर्माले फरक–फरक सरकारमा सवारी दर्ता हुने गरेकाले कति सवारी साधन अहिले सञ्चालनमा रहेको भन्ने अभिलेखसम्म सरकारसँग नभएको बताए।
छलफलमा स्वरोजगार यातायात मजदुर संगठन, एकीकृत यातायात मजदुर संगठन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल मजदुर संघ, नेपाल यातायात मजदुर संघका पदाधिकारी सहभागी थिए। छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघका पदाधिकारीको पनि सहभागिता थियो।
छलफलमा व्यवसायी र मजदुर संघ, संगठनका पदाधिकारीले ऐनका कारण ठूलो समस्या झेलेको गुनासो गर्दै दक्ष चालक पाउन मुस्किल भएको, दक्ष चालकको अभावमा दुर्घटना बढ्न थालेकोमा चिन्ता व्यक्त गरे।
मन्त्रालयले सवारी ऐन २०४९ संशोधन गर्न सरोकारवाला निकायसँग छलफल गरी सुझाव संकलन गरेको हो।