यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरूको सुझाव ग्रहण गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले सरकारलाई सुझाएको छ।
बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरीय कार्यशालाले यदि सरकार एकलौटी अघि बढे देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको छ।
संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको भए पनि सरकारले सरोकारवालाहरूसँग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले यसको खबरदारी देशभरीका यातायात मजदुरहरूले गर्नुपर्ने बताए।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारलाई लिखित रूपमा कानुन संशोधनका लागि १६ शुत्रीय सुझाव प्रस्तुत गरेको बताउँदै अध्यक्ष राईले भने, 'सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २, दफा १६२, दफा १६३ र दफा १६४ श्रमिक प्रतिकुल रहेकाले संशोधन गर्दै र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्छ।'
त्यस्तै 'मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३' लाई संशोधन गर्दै मजदुर बीमा, तेस्रो पक्ष बीमा र यात्रु बीमा रकमलाई समय सापेक्ष वृद्धि गर्नुपर्ने, साना सवारीसाधनको गल्तीले हुने दुर्घटनाको क्षतिपूर्ति ठूला सवारीसाधनलाई भुक्तान गराउने गलत प्रथाको अन्त्य गर्दै कानुनी संशोधन गरिनु पर्ने राईले बताए।
ऐनमा सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी प्रावधानमा इ–रिक्सा चालकहरूका लागि विशेष व्यवस्था गर्दै ठूला तथा मझौला सवारी चालक अनुमतिपत्र सिधै पाउने व्यवस्था गर्दै सडक दुर्घटनामा घाईते तथा अंगभंग भएका श्रमिक तथा सर्वसाधारण जनताको राहतका लागि कोषको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरू सरकारलाई सुझाव दिइसकिएको भए पनि ऐन निर्माण भएर सदनमा पेश गर्ने अवस्थामा समेत सरोकारवालाहरूलाई सरकारले छलफलमा नराखेको राईले बताए।
सुझाव नसेमेटी कानुन पारित गरिए देशव्यापी आन्दोलन गरिने बताउँदै सम्पूर्ण यातायात मजदुरहरूलाई तयारी अवस्थामा रहन समेत अध्यक्ष राईले आह्वान गरे।
कार्यशालाले मधेश प्रदेशको आठवटै जिल्लाहरूमा सरकारको षड्यन्त्रको बारेमा खबरदारी सभाहरू गर्ने, संगठनको सदस्याता विस्तारका लागि बसपार्कहरूमा शिविर अभियान सञ्चालन गर्ने, संगठनका नियमित कार्यक्रम गर्ने र मजदुरहरूको कार्यथलोमा सचेतना अभियानहरू सञ्चालन गर्ने योजना पास गरेको छ।
कार्यशालामा संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज सुरेन्द्र साह, जनकपुरका संस्थापक नेता असर्फी झा, संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष रामनरेश सिंह लगायतका नेताहरूले कार्यशालाको सहजीकरण गरेका थिए।
संगठनका प्रदेश अध्यक्ष अनिरुद्र झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव मनोज झाले गरेका थिए।