यातायात मजदुरहरूले दुर्घटना न्यूनीकरण अभियान सुरू गरेका छन्।
आइतबार लगनखेलमा यातायात मजदुरहरू भेला भएर एक जिम्मेवार यातायात मजदुर बन्ने आह्वान गर्दै मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, सवारीसाधन चलाइरहँदा मोबाइलफोनको प्रयोग नगर्ने, तीब्र गतिमा सवारीसाधन नचलाउने, राज्यले तोकेको भन्दा बढी भाडा नलिने, आफ्नो सवारीसाधनमा यात्रा गर्ने महिला, बालबालिका, वृद्धवृद्धालाई सम्मान गर्ने, बाल श्रमको प्रयोग नगर्ने, सभ्य भाषा प्रयोग गर्ने र ट्राफिक नियमको पालना गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटीले लगनखेल बसपार्कमा खुला रूपमा सडक सचेतनासम्बन्धी अनुशिक्षण कार्यक्रममा ललतिपुरका दुई सय चालक, सह-चालक तथा परिचालकहरूले जिम्मेवार यातायात मजदुरका रूपमा आफूलाई विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई लगायतका नेतृत्व, काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका तर्फबाट डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालय ललितपुरका प्रमुख शालिकराम तिम्सिना लगायतको उपस्थितिमा मजदुरहरूले प्रतिबद्धता जनाएका हुन्।
देशमा प्रत्येक दिन सातदेखि आठ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर दुई हजार आठ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको संगठनका अध्यक्ष भीमज्वाला राईले अवधारणा प्रस्तुत गर्दै तथ्य प्रस्तुत गरे।
उनले प्रहरी प्रधान कार्यालयको स्रोत उल्लेख गर्दै चार वर्षमा भएको सडक दुर्घटना र त्यसबाट ज्यान गुमाउनेहरू र घाइते हुनेहरूको तथ्य समेत प्रस्तुत गरे।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाहले नेपालमा भित्रिरहेको अनियन्त्रित सवारीसाधन सडक पूर्वाधार विकासमा आएको सुस्तताले ट्राफिक व्यवस्थापनमा चुनौतीसँगै सडक दुर्घटनामा वृद्धि भइरहेको बताए।
उनले ट्राफिक जनशक्ति अपुग रहेको समेत बताए। उनका अनुसार सवारीसाधनको चाप अत्यधिक छ। र, सडक प्रयोगकर्ता र चालकहरूमा ट्राफिक संकेत चिन्ह र ट्राफिक ज्ञानको समेत अभाव छ। यसका कारण सडक दुर्घटना बढिरहेको छ।
'अहिले अधिकांश सडक दुर्घटनाको अध्ययन गर्दा दुई पांग्रे सवारीसाधन र चार पांग्रे सवारीसाधन एकापसमा जुधेर दुर्घटना भइरहेको छ। दुई पांग्रे सवारीसाधनका चालकको उमेर कम हुने गरेको पाइन्छ,' उनले कार्यक्रममा बोल्दै भने।
सडक दुर्घटना निर्मुल पार्न नसकिए पनि सचेतना अभियान निरन्तर चलाउँदै जाने हो भने कम गर्न सकिने धारणा पनि डिएसपी शाहले राखे।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले मजदुरहरूको हक, हित र अधिकारको मुद्दा यस संगठनले ४५ वर्षदेखि गर्दै आइरहेको भएपनि यतिबेला सडक दुर्घटना सबैले चासो राख्नुपर्ने भएकाले संगठनले अभियान चलाएको बताए।
सो अवसरमा संगठनका उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा, बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिव शिवकुमार श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ लगायतको उपस्थिति थियो। सुग्रिब थिङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता विनोद बुढाथोकीले गरेका थिए।
यसबाहेक ललितपुर जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा चालक तथा सह-चालकहरूलाई सडक सुरक्षा अनुशिक्षण गर्ने भएको छ।
प्रत्येक १५ दिनमा २५ जना चालक सह-चालकहरूलाई ट्राफिक प्रहरी कार्यालय सातदोबाटो प्रशिक्षण हलमा भेला गराएर विज्ञ ट्राफिकबाट प्रशिक्षण दिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका ललितपुर अध्यक्ष विनोद बुढाथोकीले बताए।
संगठनको सहकार्यमा प्रशिक्षित हुने चालक तथा सह-चालकहरूको विवरणलाई व्यवस्थित गर्दै सडक अनुशासन पालनामा सिपयुक्त चालकहरू उत्पादन गरिने ट्राफिक प्रहरी कार्यालय ललितपुरका इन्चार्ज तथा प्रहरी निरीक्षक शालिकराम तिम्सिनाले बताए।