बिक्री नभएर भन्सार विन्दुमै रहेका सवारी साधनहरूको रिएक्सपोर्टसम्बन्धी नाडा र अर्थमन्त्री प्रकाशशरण महतबीच छलफल भएको छ।
बिहीबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री महतसँग अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको थियो। सोही कार्यक्रममा रिएक्सपोर्टको विषयमा पनि छलफल भएको हो।
बिक्री हुन नसकी भन्सार विन्दुहरूमा रहेका सवारी तथा ढुवानीका साधनहरूलाई कुनै पनि मुलुकमा रिएक्सपोर्ट गर्न सकिने व्यवस्थाको परिकल्पना आर्थिक ऐनमा छ। यस सम्बन्धी प्रावधान समेत छ। तर यसको कार्यान्वयन भने नभएको भन्दै ती सवारी तथा ढुवानीका साधनहरू रिएक्सपोर्ट गर्नका लागि विद्यमान कानूनी व्यवधानलाई सहजीकरण गर्न नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले अनुरोध गरेका हुन्।
छलफलमा अध्यक्ष थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरू भन्सार विन्दुबाट छुटाउने सम्बन्धमा सूचना प्रकाशित गरेको जानकारी अर्थमन्त्री महतलाई गराए। यसमा अध्यक्ष थापाले भन्सारमा रहेका सबै सामानहरू एकै प्रकृतिका नहुने हुँदा त्यसलाई एकै प्रकारको व्यवहार गरिनु न्यायोचित नहुने धारणा व्यक्त गरे।
सोही छलफलमा अध्यक्ष थापाले अझै पनि बजार अर्थतन्त्र बलियो नभएको हुँदा व्यवसायीहरूलाई कम्तीमा चालु आर्थिक वर्षको अन्त्यसम्मको लागि भन्सारमा आइसकेका सवारी तथा ढुवानीका साधनहरू भन्सार विन्दुबाट छुटाउन मिल्ने गरी समयावधि थपका लागि आग्रह गरे। उनले सवारी साधन व्यवसायीहरूले हालैको ६ महिनाभित्रै पनि करिब एक हजार छ सय सवारी तथा ढुवानीका साधनहरू भन्सार जाँचपास गराई सकेको जानकारी अर्थमन्त्रीलाई गराए।
त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपाल मै उत्पादन हुने सबै किसिमका ब्याट्रीहरू निर्यात गर्दा अन्य निर्यात वस्तुहरूले पाउने सरहको छुट पाउने व्यवस्थाका लागि अनुरोध गरे। साथै नेपालमा उत्पादित ब्याट्रीहरूलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह ‘एनएस’ पाउने व्यवस्थाका लागि समेत आग्रह गरे।
त्यस्तै नाडाका सचिव विक्रम सिंहानियाले नेपालमा उत्पादित टायर निर्यात गर्दा पनि सोही किसिमको व्यवस्थाका लागि अनुरोध गरे।