रोयल इन्फिल्ड मिटिओर ३५० सिसीको तीन नयाँ मोटरसाइकल सार्वजनिक भएको छ।
रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ नक्सालस्थित रोयल इन्फिल्ड सोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख श्री अभिषेक सुक्लाले मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरे।
मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सिसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन रहेको छ।
उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।२ ब्रेकहर्स पावर र ४००० आरपिएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ।
यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमता रहेको छ भने प्रति लिटर औषत ४० किमि माइलेज दिने कम्पनीको भनाइ छ।
इजी क्रुजिइग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाइ, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडि चौडा टुबलेस टायर, पछाडि चौडा टुबलेस टायर जस्ता फिचरहरू रहेका छन् ।
मिटिओर फायरबल ३५० सीसी पहेलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्। त्यस्तै मिटिओर स्टेलर ३५० सिसी कालो, निलो र रातो रंगमा उपलब्ध छन् भने मिटिओर सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ।
कम्पनीले मिटिओर फायरबल ३५० सिसीको मूल्य पाँच लाख ५० हजार रूपैयाँ, मिटिओर स्टेलर ३५० सिसीको मूल्य ५ लाख ५५ हजार रूपैयाँ र मिटिओर सुपरनोभा ३५० सिसीको मूल्य ५ लाख ६५ हजार रूपैयाँ तोकेको छ।
सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीको भनाइ छ।