यातायात कार्यालयको यस्तो बिजोग
हामीले यसअघि मंसिर २ गते यातायात व्यवस्था कार्यालय ठूलो भर्याङ र एकान्तकुनाको बेथितिबारे लेखेका थियौं जहाँ नयाँ लाइसेन्स निम्ति आवेदन भर्न सेवाग्राहीले दुई दिन चक्कर काट्नुपर्छ, पाँचवटा कोठा धाउनुपर्छ।
यातायात कार्यालय चाबहिलको अवस्था झनै नाजुक छ। त्यहाँ सेवाग्राहीले औंठाछापका लागि चाबहिल पुग्नुपर्छ, लिखित दिन सुकेधारा र ट्रायलका लागि दक्षिण ढोका धाउनुपर्छ।
यति मात्र होइन, उपत्यकाका यातायात कार्यालयहरूमा बिहानैदेखि सेवाग्राहीको लाइन हुन्छ तर दलालहरू कसरी भित्रबाट खुसुखुसु सेवा लिइरहेका हुन्छन् भन्नेबारे हामीले बाहिर बिहानैदेखि लाइन, दलालहरू खुसुखुसु भित्र शीर्षकको स्टोरीमा चर्चा गर्यौं। भर्खरै वितरण सुरू भएको परीक्षणकालीन लाइसेन्स लिन सेवाग्राही घन्टौं लाइन लागेर पर्खिंदा पनि लाइसेन्स नपाई फर्कनुपर्ने अवस्थाबारे पनि हामीले घन्टौं लाइन लागेर पर्खियो, न परीक्षणकालीन लाइसेन्स पाइन्छ न जानकारी मा लेखिसकेका छौं।
आजको शृंखलामा यातायात कार्यालयहरूमा कर्मचारी अभावले कसरी ढिलासुस्ती बढेको छ र यसले सेवाग्राहीहरू कसरी मारमा परेका छन् भन्नेबारे चर्चा गर्दैछौं:
केही दिनअघि यातायात कार्यालय ठूलो भर्याङ पुग्दा कार्यालय समय सकिनै लागेको थियो। पाँच मिनेट बाँकी हुँदा पनि सेवाग्राहीहरूको चाप अत्यधिक थियो।
जसै कार्यालय समय सकियो, कर्मचारीहरू आ-आफ्नो कार्यकक्षबाट निस्किन लागे।
त्यही बेला एक जना सेवाग्राहीले कर्मचारीलाई बिन्ती गर्दै भने, 'मेरो यो काम गरिदिनुस् न। आज दिनभरि लाइन बसेँ, पालो आएन। भोलि फेरि लाइन लाग्नुपर्छ।'
ती कर्मचारीले भने, 'आज त समय सकियो, भोलि आउनुस् न।'
सेवाग्राहीले फेरि बिन्ती गरे।
आखिर कर्मचारीको मनमा पनि दया पलाएछ। उनले सेवाग्राहीको हातबाट कागजपत्र लिँदै भने, 'खोइ के हो ल्याउनुस् त, म हेर्छु। मिल्ने भए गर्दिन्छु।'
यो एउटा उदाहरण हो जसले दैनिक सयौं सेवाग्राहीलाई सेवा दिनुपर्ने यातायात कार्यालयहरूमा कर्मचारी जनशक्ति र सेवाग्राहीको चापबीच कसरी तालमेल मिलेको छैन भन्ने छर्लंग पार्छ।
'सेवाग्राहीको चाप धेरै छ। हामीलाई दिनैभरि भ्याइनभ्याइ हुन्छ। जति गर्दा पनि काम सकिन्न। न सेवाग्राहीहरू सन्तुष्ट हुन्छन् न हामी खुसी मन लिएर घर जान पाउँछौं,' ती कर्मचारीले भने, 'कहिलेकाहीँ त दिक्क लाग्छ। सरकारी जागिर खान बेकार आइएछ जस्तो लाग्छ।'
मैले थप प्रश्न सोध्न खोज्दा उनी हच्किए र भने, 'यहाँको अवस्थाबारे बोल्न त सूचना अधिकारी तोकिएको छ। हामीलाई अप्ठ्यारो परेको छ भनेर जसले पनि गुनासो राख्दै हिँड्न मिल्दैन। तपाईं आफैं हेर्नुस् न, बिहानदेखि एकछिन थकाइ मार्ने फुर्सद छैन। कहिलेकाहीँ बिरामी भइयो भन्न पनि पाइँदैन। आलोपालो गर्न साथीहरू हुनुहुन्न। आइसकेपछि सकी-नसकी खट्नैपर्छ।'
ललितपुरको एकान्तकुना यातायात कार्यालयमा सेवाग्राहीको लाम। तस्बिर: निर्मला घिमिरे/सेतोपाटीकाठमाडौं उपत्यकामा रहेका चार यातायात कार्यालयमध्ये सबभन्दा बढी चाप हुने एकान्तकुनाका कर्मचारीको उस्तै गुनासो छ।
कार्यालय समयभरि हात खाली नराखी काम गर्दा पनि अपजस खेप्नुपरेको उनीहरू बताउँछन्।
'एकछिन रेस्टरूम जानुपर्यो भने झ्यालमा सेवाग्राहीको लाम लागिसक्छ। हामीलाई झ्यालमा राखेर कर्मचारी कता गयो भनेर कराउन थाल्नुहुन्छ,' एक कर्मचारीले भने।
बायोमेट्रिक फाँटमा काम गर्ने कर्मचारी त बेलाबेला भइरहने सर्भर ह्याङ र सेवाग्राहीको घुइँचोले दिक्दार भेटिन्छन्।
'काम कति ढिलो गरेको भनेर बाहिरबाट गाली गर्नुहुन्छ। एक जनाको विवरण राख्न, फोटो खिच्न र औंठाछाप लिन पनि समय लाग्छ। त्यसमाथि घरिघरि सर्भर ह्याङ भइदिन्छ। एकचोटि ह्याङ हुँदा १०-१५ मिनेट कामै हुँदैन,' एक कर्मचारीले भने।
एकान्तकुना कार्यालयले सवारी चालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षा लिने, पुनः परीक्षा लिने, लाइसेन्स नवीकरण लगायत सेवा दिँदै आएको छ। दैनिक आठ सयदेखि हजारभन्दा बढी सेवाग्राहीले सेवा लिन्छन्। नयाँ लाइसेन्सका लागि दैनिक तीनदेखि पाँच सयसम्म सेवाग्राही आउने कार्यालय प्रमुख राजुभाइ कुस्मा बताउँछन्।
अत्यधिक चापले सबै सेवाग्राहीको काम पूरा हुँदैन। कार्यालय समय सकिएपछि उनीहरू रित्तै फर्किन बाध्य हुन्छन्। कामको चापअनुसार कर्मचारी नहुँदा यस्तो समस्या आएको कार्यालय प्रमुख कुस्मा स्वीकार गर्छन्।
उनका अनुसार यहाँ ३८ जनाको दरबन्दी भए पनि त्यसअनुसार कर्मचारी छैनन्।
'हामीलाई त कम्प्युटर अप्रेटरकै अभाव छ। एक जना कर्मचारीले दुईवटा ड्युटी गर्नुपरेको छ,' उनले भने, 'पाँच जना कम्प्युटर अप्रेटर हुनुपर्नेमा दुई जनाले काम गरिरहेका छन्।'
कर्मचारी अभावकै कारण ढड्डा अभिलेख शाखा हेर्नेले लिखित परीक्षा पनि हेर्नुपर्छ। ट्राफिकबाट प्राप्त लाइसेन्स हेर्नेलाई अरू जिम्मेवारी पनि छ। कर्मचारी आफैं कहिले यता कहिले उता दौडिनुपर्ने अवस्था रहेको कुस्माले बताए।
यातायात कार्यालय चाबहिलको अवस्था उस्तै दयनीय छ। यहाँ बायोमेट्रिक, लिखित र ट्रायलका लागि छुट्टाछुट्टै स्थानमा धाउनुपर्छ। यसले दैनिक चार सयदेखि पाँच सयसम्मलाई सेवा दिन्छ। जबकि, कर्मचारी संख्या हेर्दा दैनिक दुई सयलाई मात्र सेवा दिने क्षमता रहेको सूचना अधिकारी रोहित पोखरेल बताउँछन्।
चाबहिल कार्यालयमा ३५ जनाको दरबन्दी हो। अहिले १५ जना मात्र छन्। एक जनाले दुई-तीन जनाको ड्युटी धान्नुपरेको पोखरेलले बताए।
यातायात कार्यालय ठूलो भर्याङका प्रमुख सञ्जय थापा पनि कर्मचारी अभावले सेवा प्रभावित भएको स्वीकार गर्छन्।
उनका अनुसार यहाँ दैनिक पाँच सय जना नयाँ लाइसेन्सका लागि फारम दर्ता गर्न आउँछन्। त्यस्तै, दिनको दुई सय नवीकरण, प्रमाणीकरण २० र ट्रायल पासको राजस्व तिर्न १०० जनाजति आउँछन्।
यति मात्र होइन, नयाँ दर्ता भएकालाई साताको दुईपटक लिखित परीक्षा लिनुपर्छ। सेवाग्राहीको चापअनुसार कर्मचारी कम छन्, थापाले भने, 'कुनै कार्यालयमा कर्मचारीहरू घाम तापेर बस्नुपर्ने अवस्था छ। यातायात कार्यालयमा भने एकदमै चाप छ।'
दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीका लागि जम्मा १० जना कर्मचारी खटिइरहेको उनले बताए।
ठूलो भर्याङ कार्यालयमा सेवाग्राहीको लाइन। तस्बिर: निर्मला घिमिरे/सेतोपाटीदेश संघीयतामा गएसँगै यातायात कार्यालय व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारमा गएको छ। तर प्रदेश सरकारले कर्मचारी पुनर्संरचना लगायत काम गरेको छैन। त्यसो हुँदा भएकै कर्मचारी पनि कतिपय रिटायर्ड भइसके। नयाँ भर्ना हुन नसक्दा कर्मचारी अभाव सिर्जना भएको थापा बताउँछन्।
यसबारे हामीले प्रदेश सरकारसँग पनि कुरा गरेका छौं।
यातायात मन्त्रालय बागमती प्रदेशका प्रवक्ता नवीनकुमार सिंह कर्मचारी पुनर्संरचना गर्न कानुन नबनिसकेकाले नयाँ भर्ना हुन नसकेको बताउँछन्।
'यस विषयमा संघले प्रदेश सचिवसँग छलफल पनि गरेको थियो। बिस्तारै समस्या समाधान होला,' उनले भने।
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारसँग छलफल बढाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सचिव रविन्द्रनाथ श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई निर्देशन दिएकी छन्।
'प्रदेश सरकारसँग छलफल गरौं। के के समस्या छन् छिट्टै सामाधान गर्नुपर्छ,' मंगलबार विभाग निरीक्षण गर्दै मन्त्री यादवले निर्देशन दिएकी थिइन्।
उनको निर्देशन कार्यान्वयन हुन अझै कति समय लाग्ला अत्तोपत्तो छैन। त्यतिञ्जेल कर्मचारी अभावको मार सेवाग्राहीहरूले नै भोग्नुपर्ने निश्चित छ।