मोटरसाइकलको इन्जिन प्रयोग गरेर नेपाली विद्यार्थीले बनाए गाडी

गाडीको परीक्षण गर्दै रविकान्त चौधरी।


पुल्चोक इन्जिनियरिङ क्याम्पसका चार जना विद्यार्थीले मोटरसाइकलको इन्जिन प्रयोग गरेर तीन पांग्रे गाडी बनाएका छन्।

मेकानिकल इन्जिनियरिङ चौथो वर्ष पढ्दै गर्दा दिपेश बुढाथोकी, अमित पण्डित, रविकान्त चौधरी र बसन्त आलेले उक्त गाडी बनाएका हुन्।

यो उनीहरूको पहिलो ‘प्रोजेक्ट’ भने होइन। यसअघि इन्जिनियरिङ दोस्रो वर्ष पढ्दै गर्दा अन्य चार जनासँग मिलेर मोटरसाइकलकै इन्जिन प्रयोग गरी ‘गो कार्ट’ (रेसिङ कार) बनाएका थिए।

गो कार्टले विभिन्न प्रदर्शनीमा राम्रो प्रतिकृया पाएपछि उनीहरुले इजिनियरिङ चौथो वर्षको फाइनल प्रोजेक्टको लागि पनि अटोमोवाइल क्षेत्र नै रोजे।

‘गो कार्ट बनाउँदा धेरै समस्या, उल्झन बुझिसकेका थियौँ, पछि पनि चारै जनाको अटोमोवाइल पढ्ने लक्ष्य भएकोले यो प्रोजेक्टमा हात हालेका हौँ’ अमितले भने।

मोतिका (मोटरसाइकल तीन पांग्रे कार) नाम दिइएको यो गाडीमा कारको स्टेरिङ राखिएको छ। यसमा एक्सिलेटर, क्लज र ब्रेक खुट्टाले संचालन गरिन्छ। २ सिट क्षमताको यो गाडी पेट्रोल र ब्याट्री दुबैबाट चलाउन सकिन्छ। यसमा अगाडि दुई वटा गाडीको पांग्रा र पछाडि मोटरसाइकलको एउटा पांग्रा प्रयोग गरिएको छ।

तस्बिर साभारः केदार बसिष्ठको फेसबुकबाट

इन्जिनबाट चलाउँदा ७४ किलोमिटर र ब्याट्रीबाट १८ किलोमिटर प्रतिघण्टा सम्मको स्पिडमा चलाउन सकिने दिपेश बुढाथोकीले दावी गरे। यो गाडीको ब्याट्रीलाई अझ सुधार गर्न सकिने उनीहरु बताउँछन्।

नाकाबन्दीले तेलको हाहाकार परेका बेलामा गाडीलाई ब्याट्रीबाट पनि चलाउन मिल्नेगरी बनाउने सोच आएको बसन्त आलेले बताए।

‘त्यो समयमा हामीलाई ब्याट्रीबाट चलाउन सकिने हाइब्रिड गाडी बनाउने सोच आयो त्यसको लागि तौल घटाउन ‘डिफ्रेन्सियल’ हटाएर तीन पांग्रे गाडी बनाएका हौँ’ उनले सेतोपाटीसँग भने।

यो गाडी हेर्दा जति सरल छ, उनीहरुलाई बनाउन भने त्यही सहज थिएन। सबैभन्दा ठूलो असहजता गाडी बनाउन २ लाख ५० हजार भन्दा धेरै रकमको आवश्यकता थियो।

पैसाको लागि यस्तो प्रोजेक्टमा लगानी गर्न उनीहरुले भारतको कालिङ्गा विश्व विद्यालयमा निवेदन दिए पनि सहयोग आएन। त्यस्तै ठिमीस्थित युनिभर्सिटी ग्राण्ड कमिसनमा पनि निवेदन दिए। प्रोजेक्ट फाइनल भएपछि मात्र त्यहाँबाट सहयोग हुने प्रतिक्रिया पाए। रकम जुटाएर गाडी निर्माण भइ सकेपछि सहयोग आएकाले त्यो नलिएको उनीहरुले बताए।

प्रोजेक्टको लागि अमितको मामाले आफै इन्जिनियर भएका कारण ७० हजार सहयोग गरे। त्यस्तै प्रोजेक्ट सुपर भाइजर डा.नवराज भट्टराइले व्यक्तिगत १० हजार दिए र कलेजले ४ हजार ५ सय दियो। यो बाहेक अरु पैसा आफै उठाए। पैसा कम भएका कारण फ्रेमको स्पेयर पाइपबाहेक धेरैजसो सामान कवाडीबाट किनेको रविकान्तले जानकारी दिए।

देब्रेतिरबाट क्रमशः बसन्त आले, अमित पण्डित, सुपरभाइजर डा. नवराज भट्टराई र दिपेश बुढाथोकी।

गाडी बनाउनको लागि बाइकको इन्जिन चाहिने र इन्जिन मात्र किन्न नपाइएपछि उनीहरुले ३५ हजारमा २ सय २५ सिसीको करिज्मा मोटरसाइकल किने।

स्टेरिङ आफैले बनाउँदा धेरै खर्च लाग्ने सोचेर रोबर्टीक्स क्लबबाट सहयोग लिए। नेपाल सरकारबाट क्लबलाई दिएको गाडीको सामान प्रयोग गर्न रोबर्टीक्सका सिनियर एडभाइजर रमेश चौधरीले सहमति दिए। यसले गर्दा उनीहरुको ७०–८० हजार बच्यो। मोटर कन्ट्रोलर तराइमा चल्ने इ–रिक्सामा प्रयोग हुने किनेर ल्याए।

१२ भोल्टको ४ वटा ब्याट्री चाहिने भयो। ‘एउटैको १५–२० हजार पर्ने हुँदा सहयोगको लागि सिप्रदीका दिपेश पौडेलसँग सहयोग माग्यौँ’ रविकान्तले भने।

पौडेलले केही समयको लागि नयाँ ब्याट्रीको ब्यवस्था मिलइदिए। यो सबै उल्झनका बीच ६ महिनामा गाडी बनाए। धेरै ठाउँमा यसलाई सफलता पुर्वक उनीहरुले पुर्याइसकेका छन्।

गाडी दर्ता गर्न मिल्छ कि भनेर यातायात कार्यालय समेत पुगे, तर यसलाई स्विकृति दिनको लागि जाँच गर्ने संयन्त्र नभएको जानकारी दिइयो।
यो गाडीलाई सुधार गरेर मनोरञ्जनको क्षेत्रमा, ठूला होटल, रिसोर्ट, गल्फ कोर्ट, आदीमा प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ।

यति मात्र नभइ विद्यार्थीहरुले अरु तीन–चार मोडलका गाडीको सोच पनि बनाइसकेका छन्।

उनीहरुमा एउटा गुनासो छ। ‘सबै विद्यार्थी उत्कृष्ट प्रोजेक्ट बनाउने भनेर सोचेका हुन्छन्, तर पैसाको अभावले धेरैले इच्छा मार्छन् र पास हुनको लागि मात्र झारा टारेर निस्कन्छन्’ दिपेशले गुनासो गरे ‘यस्तो विषयमा सरकारी निकायले ध्यान दिए देशकै लागि राम्रो हुन्छ र हाम्रो क्षमता संसारलाई देखाउन सकिन्थ्यो।’

सजिलै जाँच गर्ने व्यवस्था मिलाएर सडकमा चलाउन पाउने व्यवस्था मिले क्षमताको कदर हुने विद्यार्थीहरु बताउँछन्। उनीहरुले यो गाडी माघमा हुने क्यान इन्फोटेक प्रदर्शनीमा राख्ने जनाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.