इतिहास दोहोर्‍याउने होडमा ‘अल न्यू इकोस्पोर्ट’


सन् २०१३ को जुलाईमा नेपाली बजारमा फोर्ड इको स्पोर्ट भित्रियो। त्यो बेला नेपालमा सेडान र ५० लाख भन्दा माथिका एसयुभीहरुको मात्र वर्चश्व थियो। यो सेगमेन्टमा अरु कुनै गाडी नै नभएको र सुविधा सम्पन्न भएका कारण धेरैको आकर्षणमा पर्न सफल भयो।

त्यस बेला गाडी पुर्याउन नसक्नेगरी इको स्पोर्टको अत्याधिक बुकिङ भएपछि बीचमै बुकिङ स्थगित गर्नुपर्ने अवस्था आएको जिओ अटोमोवाइल्स प्रालिका जनरल म्यानेजर सुनिलबहादुर क्षेत्री बताउँछन्।

‘इको स्पोर्ट भारतमा पनि उत्तिकै लोकप्रिय थियो, त्यसकारण २०१३ को अन्तिमदेखि २०१४ को सुरुमा भरतबाट प्रयाप्त गाडी आउनै सकेन, इको स्पोर्टको अभाव नै भयो’ उनले भने ‘गाडीको यस्तो अभाव नेपाली अटो जगतमा कमै हुन्छ।’

आफूले चाहेको भेरियन्ट र रङको गाडीका लागि केहीले ९ महिनासम्म पर्खिएको उनले अनुभव सुनाए।  इको स्पोर्ट नेपालमा मात्र ३ हजारभन्दा धेरै बिक्री भइ सकेको छ। जुन फोर्डको लागि सर्वाधिक बिक्रि भएको गाडी हो।

क्षेत्री भन्छन् ‘सानो एसयूभीमा इको स्पोर्टले नेपालमा ‘रिभोलुसन’ ल्याएको हो जुन आज सम्म पनि जारी छ।’  इको स्पोर्टले भारतमा निकै प्रतिष्ठित मानिएको ‘इन्डियन कार अफ दी इयर २०१३’ अवार्ड पाएको थियो। योसहित ३१ अवार्ड हात पारेको यसलाई भारतीय आटोमोवाइल क्षेत्रमा नयाँ रेकर्ड मानिन्छ। उचित मूल्य, नेपालको बाटो सुहाउँदो फिचर्स, सेफ्टी, आकर्षक लुक्सका कारण यो लोकप्रिय बनेको क्षेत्रीको बुझाई छ।

गत मंसिर २ गते जिओ अटोमोवाइल्सले इको स्पोर्टको नयाँ भर्सन ‘अल न्यु इको स्पोर्ट सार्वजनिक गरेको छ। यसले पुरानो इको स्पोर्टजत्तिकै लोकप्रियतालाई कायम राख्ने कम्पनीको दावी छ।

आफूहरु अल न्यू इकोस्पोर्टप्रति पहिलेको भन्दा अझ धेरै आशावादी रहेको जनरल म्यानेजर क्षेत्रीले बताए। ‘यसको इन्जिन, पावर टर्क, फ्यूल इफिसेन्सी, इन्टेरियर, मूल्य, लुक्स सबै पहिलेको भन्दा पनि राम्रो छ, त्यसैले पुरानो इको स्पोर्टको रेकर्ड तोड्ने छ’ उनले भने।

म्युजिक सिस्टम, ड्युअल एयर ब्याग, इबिएस, पावर विन्डो, लगायतका फिचर्स सुरुआती मोडलमै उपलव्ध छन्। टप मोडलमा ६ वटा एयर ब्याग, लेदर सिट, पुस स्टार्ट एण्ड स्टप बटम, २०.३२ सिएम टच स्क्रिन, रेयर भ्यु क्यामरा, फग ल्याम्प, अटो एसी, भ्वाइस कन्ट्रोल सिस्टम, लगायतका धेरै फिचर्स समावेस छन्।

१६ सय भन्दा बढी नयाँ पुर्जा राखेर बनाइनुका साथै शक्तिशाली इन्जिन र अझै राम्रो रुपमा यसलाई प्रस्तुत गरिएको कम्पनीको दावी छ। पेट्रोल तथा डिजल दुवैमा उपलव्ध इन्जिन पहिलेको तुलनामा सानो, हलुका र कार्य कौशलपुर्ण छ।

पेट्रोल भेरियन्टका गाडीमा ३ सिलिन्डर प्रयोग गरिएकोे छ। यसको इन्जिन क्षमता १४९७ सिसीको छ। १२३ पीएस पावरमा १५० एनएम टर्क उत्सर्जन गर्छ।

त्यस्तै डिजल इन्जिनमा ४ सिलिन्डर प्रयोग गरिएको छ। यो १४९८ सिसीको क्षमतामा छ।१ सय पीएस पावरमा २ सय ५ एनएम टर्क उत्सर्जन गर्छ। १० वटा भेरियन्टमा उपलब्ध यो गाडी ७ रङ्गमा छ।

यसको सुरुआती भेरियन्टको मूल्य ३३ लाख ९० हजार छ भने अन्तिम भेरियन्टको मूल्य ४९ लाख ९० हजार निर्धारण गरिएको छ। यसको पावर, पिक अप, फिनिसिङ, गाडिको लुक्स, ओभर अल प्याकेज प्रति ग्रहक निकै सन्तुष्ट रहेको र बुकिङ, टेस्ट ड्राइभको फिडब्याक पनि राम्रो रहेको कम्पनीले जनाएको छ। कम्पनीले गाडीको खोजीमा रहेकाहरुलाई एक पटक फोर्डको शोरुममा आएर टेष्ट ड्राइभ गर्न आग्रह समेत गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.