माछापालनबाट वार्षिक ३० लाख कमाउँछन् ‘फिस किङ’


माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्।

कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन्।

धनुषाको सहिदनगर नगरपालिका–४ नन्नुपट्टी गाउँका ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ । नन्नुपट्टीमा करिब १३ बिगाहा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको छ।

२०२९ सालबाट माछा उत्पादन शुरु गरेका मुखियाले हालसम्म आफ्नो व्यापारमा निकै ठूलो फड्को मारेका छन् । मुखियाले निजीस्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन् । जसबाट उनले वार्षिक सात करोड मूल्य बराबरका माछाका भुरा र करिब ३०० क्वीन्टल माउ माछा उत्पादन गरी बिक्री गर्ने गरेका छन्।

शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको ठूलो जमघट हुने गर्छ । आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहजरूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन्।

मुखियाको व्यापारमा उनको छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन्। बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेशामा नगई यसमै लागिपरेको कान्छा छोरा रमेश बताउँछन् । यस फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताए।

अहिले माछा व्यापारबाटै वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सफल मुखिया परिवारलाई यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असिम दुःख भोगेको अनुभव पनि छ।

तराईमा दलित जाति मै पर्ने उनको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ। मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन् । आफू जन्मिएको दश दिनमै आमा बितेको कुरा उनले धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका थिए। उनले भने “त्यतिबेला ठुल्दाइ किसुन मुखियासँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थ्यौँ। १० वर्षको हुँदा बुबा निकै बिरामी पर्नुभएछ, घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो” उपचार अभावमा बुबा बितेको सम्झँदा उनको आँखा रसायो।

अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेको अनुभव उनीसँग छ । “दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे–जति आउँथ्यो, त्यसैबाट गुजारा चलाउँथ्यौँ हामी”, मुखियाले पुराना दिन सम्झिदै भने।

मुखियाका अनुसार करिब १३ वर्षको उमेरमा उनी आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले । त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।

उनले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताएका थिए । विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै । उनले काम गर्ने साहु तिवारीको तीन कट्ठा जग्गामा पोखरी थियो। मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए । “तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए”, मुखियाले स्मरण गरे– “सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती शुरु गरेँ ।”

सानो पोखरी उत्पादन राम्रै भयो । त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.