धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करीब ६८ दशमलव २९ प्रतिशत क्षेत्रमा वर्षे धान रोपाईं सम्पन्न भएको छ । कृषि विकास मन्त्रालयका अनुसार देशभरीको १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर वर्षे धान रोपाईं हुने क्षेत्रफलमध्ये सोमबारसम्म करीब दश लाख ६० हजार १ सय ३२ हेक्टर अर्थात ६८ दशमलव २९ प्रतिशत जमिनमा रोपाईं सम्पन्न भएको मन्त्रालयले बताएको हो ।
हालसम्म उच्च पहाडमा पर्ने १४ जिल्लाहरुमा ७४ दशमलव १६ प्रतिशत, मध्यपहाडका ३९ जिल्लामा ६९ दशमलव २३ प्रतिशत तथा तराईका २० जिल्लामा ६३ दशमलव ९८ प्रतिशत रोपाईं सम्पन्न भएको छ । पूर्वाञ्चलमा वर्षे धान रोपाईंँ हुने ४ लाख ४५ हजार ९ सय ३८ हेक्टर भूभागमध्ये २ लाख १८ हजार १ सय अर्थात ४८दशमलव ९३ प्रतिशत, मध्यमाञ्चलमा ४ लाख ३९ हजार ३ सय २८ हेक्टर भूभागमध्ये २ लाख ७७ हजार ९ सय ६२ अर्थात ६३ दशमलव २७ प्रतिशत, पश्चिमाञ्चलमा ३ लाख १२ हजार ५ सय ४७ मध्ये २ लाख ६५ हजार ४ सय १८ अर्थात ८४ प्रतिशत रोपाईं भएको छ ।
त्यस्तै, मध्यपश्चिमाञ्चलमा धान रोपाईं योग्य क्षेत्र १ लाख ७८ हजार ९६ भएकोमा ६९ प्रतिशत अर्थात १ लाख २४ हजार ५ सय १६ हेक्टर तथा सुदूर पश्चिमाञ्चलमा १ लाख ७६ हजार ५ सय ६० मध्ये ९८ प्रतिशत अर्थात १ लाख ६४ हजार ५४ जमिनमा रोपाईं सम्पन्न भएको छ । धान रोपाईं गर्न सकिने कुल क्षेत्रमध्ये औसत रुपमा कैलाली, कञ्चनपुरमा, बझाङ, डोल्पा, हुम्ला, जुम्लामा सबैभन्दा धेरै सत प्रतिशत तथा सिरहा, धनुषा र महोत्तरीमा सबैभन्दा थोरै २५ प्रतिशत रोपाईं भएको छ ।
पर्र्याप्त वर्षा हुन नसक्दा यस वर्ष धान रोपाईं हुन सकिरहेको छैन्। सामान्यतया साउन १५ सम्म रापाई हुँदा त्यसले उत्पादनमा खास असर नगर्ने विज्ञहरुको बताउँछन् । तर ढिलो गरी रोपाईं हँुदा धानको बाला नझुल्ने जस्ता कारणले उत्पादनमा प्रत्यक्ष असर पर्ने गर्छ । गत वर्ष साउनको तेश्रो हप्तासम्ममा उच्च हिमाली जिल्लाहरुमा ९९ प्रतिशत, मध्य पहाडी जिल्लाहरुमा ९८ प्रतिशत तथा तराईमा ९७ प्रतिशत रोपाईं भएको थियो ।
त्यस्तै पर्याप्त वर्षा, मलको सहज उपलब्धता तथा समयमै रोपाईं र सबै क्षेत्रको रोपार्ईं सन्तोषजनक भएपछि गत वर्ष इतिहास कायम गर्दै हालसम्म कै उच्च करीब ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । सरकारले यस वर्ष ५४ लाख मेट्रिक टन धान उत्पादन गर्दै आगामी तीन वर्षभित्र आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ । तर आउँदो केहि दिन सबै क्षेत्रमा धान रोपाईं हुन नसके त्यसले सरकारी लक्ष्य पूुरा हुनेमा आशंका गर्न थालिएको छ ।
तर कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाले भने पहाडी जिल्लाको हकमा समय बित्दै गएपनि तराईमा भने साउन अन्तिमसम्म रोपाईं गर्न सकिने र मनसुन अहिले सक्रिय अवस्थामा रहेकाले यस वर्ष ९५ प्रतिशत रोपार्ईं हुनेमा आशावादी रहेको देखिन्छन् । उनले भने, ‘यस वर्ष ढिलो गरी मनसुन शुरू भयो र सक्रिय हुन पनि समय लाग्यो त्यसैले रोपार्ईं पोहोरको भन्दा ढिलै भइरहेछ । मध्य र उच्च पहाडी क्षेत्रमा रोपाईको अवस्था सन्तोषजनक छ । तर मनसुन हाल ‘पिक लेभल’ मा रहेकाले तराईका सबै क्षेत्रमा रोपाई सम्पन्न भई मन्त्रालयले राखेको लक्ष्य प्राप्त हुनेमा हामी ढुक्क छौँ।’
उनले हाल दैनिक २ प्रतिशतका दरले रोपाईं भइरहेको तथा यो अवस्था यस हप्तासम्म रहने र त्यसपश्चात १ प्रतिशतमा झरे पनि यस वर्ष करीब ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाईं हुने मन्त्रालयको विश्लेषण रहेको उल्लेख गरे ।
देशमा वार्षिक करीब ३६ लाख मेट्रिक टन चामलको माग रहे पनि उत्पादन भने ३१ लाख भन्दा बढ्न सकेको छैन । दश मेट्रिक टन चामलबाट करीब ६ मेट्रिक टन चामल तयार हुन्छ । धान उत्पादन बढ्दै गएपनि वर्षेनी २० अर्ब मूल्य बराबरको चामल भारत लगायतका देशबाट आयात हुँदै आएको छ ।
देशमा वर्षे धान रोपाईं हुने क्षेत्रफल १५ लाख ५० हजार हेक्टर छ भने करीब एक लाख हेक्टर क्षेत्रमा चैतै धान रोपाईं हुने गरेको छ जसलाई बढाएर तीन लाख हेक्टरसम्म पर्याउने मन्त्रालयले योजना बनाएको छ ।
तर हालसम्म कृषि योग्य २६ लाख ४१ हजार हेक्टर जमिनमध्ये ६६ प्रतिशत अर्थात करीब १७ लाख ६६ हजारमा मात्र सिँचाईको सुविधा पुगेकाले अधिकांश भेगका किसान रोपार्ईं गर्न आकाशे पानी कुर्न बाध्य छन्।