पश्चिमी वायुको प्रभावले बुधबार (आज) सम्म वर्षा हुने सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार बुधबार पश्चिम नेपालमा तुलनात्मकरूपमा धेरै वर्षा हुनेछ। मध्य र पूर्वी नेपालका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताए।
‘बिहीबारदेखि वर्षाको सम्भावना कम छ त्यसैले किसानले धान काट्न सुरू गर्दा उपयुक्त हुन्छ,’ उनले भनेका छन्।
यसैबीच मनसुन क्रमश कमजोर हुँदै गइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भेगमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जनाएको छ ।
बुधबार दिउँसो कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा तराईमा आंशिक बदली हुने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, बुधबार राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ। कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको दैनिक मौसम बुलेटिनमा उल्लेख छ।