दाङको तुलसीपुर उपमहानगरपालिका-१९, छिल्लीकोटका परवीर पुनको परिवार यति बेला सुगन्ध-कोकिलाको फल स्याहार्न व्यस्त छ।
सुगन्ध-कोकिलाको रूख १५ मिटरसम्म अग्लो र फेद पाँच फिटसम्म गोलो हुन्छ। यसको फल एक सेन्टिमिटरसम्म गोलो र तीन सेन्टिमिटरसम्म लामो हुन्छ। यसको स्थानीय नाम मालायागेडी हो।
परवीरका अनुसार सुगन्ध-कोकिला चैत-वैशाखमा फुल्छ र असोजमा फल पाक्न सुरू हुन्छ। फल संकलन गर्न सजिलोका लागि रूखमुनि सफाइ गरिएको हुन्छ। फल संकलन गरेर झन्डै एक महिना घाममा सुकाउनुपर्छ।
'हिजोआज छिल्लीकोटका हामी सबैजसो बासिन्दा फल संकलन गर्ने, दिनभर घाममा सुकाउने, बेलुका उठाउने र फेरि सुकाउने काममा व्यस्त छौं,' परवीरले भने।
छिल्लीकोट रोल्पा जिल्लासँग सिमाना जोडिएको पहाडी क्षेत्र हो। यहाँ १०५ घरपरिवारको बसोवास छ। सबै परिवारले आआफ्ना बारीमा सुगन्ध-कोकिला रोपेका छन्।
परवीरको बारीमा बाजेका पालादेखि १२ वटा रूख थिए। त्यसको फलले राम्रो मूल्य पाउन थालेपछि उनले नर्सरी बनाएर आफ्नो पूरै जग्गामा बिरूवा रोपेर दुई सय जति पुर्याएका छन्।
सुगन्ध-कोकिलाको बिरूवाले बढीमा सात वर्षमा फल दिन सुरू गर्छ। यस वर्ष उनको बारीका दुई सयवटै बोटमा फल लागेको छ। सामान्यतया एउटा रूखले ४० वर्षसम्म फल दिन्छ। परवीरले गत वर्ष दुई क्विन्टल सुगन्ध-कोकिला बेचे। प्रतिक्विन्टल ५७ हजार रूपैयाँ दरमा। यस वर्ष तीन क्विन्टल जति फल हुने अनुमान छ।
उनीहरूले फल बेच्न कतै जानु पर्दैन, व्यापारीहरू घरमै पुग्छन्। गाउँलेहरूले यसपालिको फल बेच्न पनि थालिसके। परवीरले भने बेचेका छैनन्।
'अहिले संकलन र सुकाउनमै व्यस्त छौं,' उनले भने, 'मंसिर अन्तिमसम्म पर्खिन्छु। राम्रो भाउ पाए बेच्छु, नत्र भण्डारण गरेर राख्छु। जहिले राम्रो भाउ आउँछ तहिले बेच्छु।'
सुगन्ध-कोकिला गुणस्तरीय बनाउन र राम्रो मूल्य लिन फल निकै राम्ररी सुकेको हुनुपर्छ।
छिल्लीकोटको धेरैजसो सुगन्ध-कोकिला छिमेकी देश भारत र चीन जान्छ। पन्ध्र वर्ष उमेर पूरा भएको र राम्ररी हुर्किएको एउटै रूखले दुई सय किलोसम्म काँचो फल दिन्छ तर सुकेर तयार हुँदा बढीमा ३० किलो हुन्छ। पुरानो रूखको काठ फर्निचर बनाउन पनि निकै गुणस्तरीय मानिन्छ।
केही वर्षअघि छिल्लीकोटका बासिन्दाले सुगन्ध-कोकिलाबाट सिन्के धुप बनाएका थिए। धुप सुगन्धित भए पनि राम्रो बजारीकरण हुन नसक्दा किसानहरूले फाइदा लिन सकेनन्। झन्झिटिलो प्रक्रिया र बजारीकरण हुन नसक्दा किसानहरूले धुप बनाउन छाडेको स्थानीयवासी पवित्रा रेउलेले बताइन्।
पवित्राको पनि आम्दानीको मुख्य स्रोत सुगन्ध-कोकिला नै हो। कलेज पढ्ने दुई छोराछोरीको पढाइसहित परिवारको सबै खर्च सुगन्ध-कोकिलाले नै पुर्याएको छ।
'हाम्रो आर्जनको मुख्य स्रोत मालायागेडी नै हो। रूख हुर्किएपछि केही गर्नु पर्दैन, आफै फल्छ। हामीले त फल जम्मा गरेर सुकाउने र बेच्ने मात्रै हो,' उनले भनिन्।
सुगन्ध-कोकिलाकै कमाइबाट लगानी गरेर पवित्रा र उनका श्रीमान जीवराजले छिल्लीकोटमै एउटा होम-स्टे चलाएका छन्। उनीहरूले गत वर्ष १० वटा रूखबाट प्रतिक्विन्टल ५७ हजार रूपैयाँका दरले तीन क्विन्टल सुगन्ध-कोकिला बेचेका थिए। यसपालिको फल भने बेचेका छैनन्। यसपालि कम्तीमा सात क्विन्टल फल हुने पवित्राको अनुमान छ।
'व्यापारीहरू दिनदिनै आउँछन्। अहिले फल राम्ररी सुकेको छैन। राम्रो सुकेपछि मात्रै भाउ (मूल्य) पनि राम्रो पाइन्छ,' उनले भनिन्।
उनीहरूको बारीमा ३५ वटा नयाँ रूख पनि हुर्किँदै छन्।
छिल्लीकोटकै धनबहादुर पुनले पोहोर स्थानीय एक विद्यालयको र जंगलको समेत ठेक्कामा लिएर साढे दस क्विन्टल फल बेचेका थिए। उनको पाखो बारीमा फल दिने १५ वटा बोट छन्। गत वर्षको तुलनामा यस वर्ष कम फल लागेको उनले बताए। एक वर्षअघि थप ३० वटा बिरूवा रोपेका छन्।
'बुढा रूख सुक्न थालेपछि नयाँ बिरूवा रोप्छौं। छिल्लीकोटवासीका लागि सुगन्ध-कोकिला वरदान भएको छ,' उनले भने।
किसानहरू छिल्लीकोटलाई सुगन्ध-कोकिला उत्पादनको पकेटक्षेत्र भन्छन्। सबै गाँउले आम्दानीको मुख्य स्रोत यही हो। यो जस्तो राम्रो आम्दानी हुने अर्को केही नभएको उनीहरू बताउँछन्।
छिल्लीकोटका किसानसँग सुगन्ध-कोकिला किन्ने व्यापारीमध्ये एक हुन् ३६ वर्षीय विकास खड्का। उनले आफूसहित पाँच जनाले छिल्लीकोटबाट सुगन्ध-कोकिला किनेर घोराहीका व्यापारीलाई बेच्ने गरेको बताए। घोराहीका व्यापारीले भारतीय र चिनियाँ व्यापारीलाई बेच्छन्।
गत वर्ष छिल्लीकोटबाट करिब दुई करोड रूपैयाँको सुगन्ध-कोकिला किनेको विकासले बताए।
'यस वर्ष पनि किन्न थालिसक्यौं। किसानहरूसँग सल्लाह हुँदैछ,' उनले भने, 'यस वर्ष भाउ केही खस्केकाले किसानहरू बेच्न तयार भइसकेका छैनन्।'
डिभिजन वन कार्यालय, घोराहीका वरिष्ठ वन अधिकृत टेकन आचार्यका अनुसार सुगन्ध-कोकिला नेपालको रैथाने वनस्पति हो।
नेपालमा दाङ, सल्यान, रोल्पा, रूकुम, प्यूठान र गोर्खामा यो वनस्पति पाइन्छ। नेपाल सरकारले देशको आर्थिक विकासका लागि पहिचान गरेका ३० वटा मुख्य जडिबुटीमा सुगन्ध-कोकिला पनि पर्छ। यसको फलको बोक्राबाट सुगन्धित तेल निकालिन्छ। तेलबाट अत्तर बनाइन्छ। तेल निकालेपछिको छोक्राबाट अगरबत्ती बनाइन्छ।
यसको तेल सुगन्धित साबुन बनाउन पनि प्रयोग हुन्छ। आयुर्वेद चिकित्सामा सुगन्ध-कोकिलाको रूखको बोक्रा पनि औषधि बनाउन प्रयोग हुन्छ।
बितेका पाँच वर्षको तथ्यांक हेर्दा छिल्लीकोटबाट मात्रै वार्षिक दुई करोड रूपैयाँभन्दा बढीको सुगन्ध-कोकिला बिक्री भएको आचार्यले बताए।