बजारमा लिचीको मूल्य घट्न थालेको छ।
बजारमा लिचीको आपूर्ति बढेसँगै मूल्य घट्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
'अहिले तराई क्षेत्र र भारतबाट पनि लिची आइरहेको छ,' उनले भने।
उनका अनुसार बजारमा लिची आउन थालेको १५ दिन भयो। सुरूआती चरणमा लिची प्रतिकिलो थोक मूल्य दुई सय ५० रूपैयाँमा काराबार भइरहेको थियो।
स्वदेशी लिचीको तुलनामा भारतीय लिची थोरै महँगो छ।
अहिले बजारमा स्वदेशी लिची प्रतिकिलो थोक मूल्य एक सय ८० देखि एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, भारतीय लिची प्रतिकिलो दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
अहिले भारतीय लिची बजारमा नगन्य मात्रामा छ। केही समयपछि तराइ लिचीको सिजन सकिने छ। त्यसपछि पहाडी क्षेत्रका लिची आउन थाल्नेछन्।
'लिचीको सिजन धेरै लामो समय हुँदैन। केही समय आउँछ अनि सकिहाल्छ,' उनले भने।
कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांक अनुसार भने बजारमा लिची न्यूनतम थोक मूल्य एक सय २० देखि दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।