कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताएका छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिब्रता दिइएको बताएका हुन्।
उनले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिए।
'हामीले मोबाइल ल्याब, भ्यान परिचालन गरी बजार तथा उद्योगको अनुगमन गरी अन द स्पट जाँच परीक्षण गरिरहेका छौं। यसले उपभोक्तामा सकारात्मक सन्देश दिनुको साथै नियमन कार्यमा थप प्रभावकारीता देखिएको छ,' उनले भने।
मन्त्री अधिकारीले मानिसले दैनिक खाने खाना सुरक्षित गराउनका लागि स्पष्ट दिशा निर्देश होस् भन्ने उद्देश्यले सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगिसकेको पनि बताए।
'नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने कानूनका लागि करिव छ दशक पश्चात खाद्य ऐन २०२३ लाई परिमार्जन गरि २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसदले पास गरेर गत साउनदेखि कार्यान्वयनको चरणमा आएका छौं,' उनले भने।
ऐनले समय सापेक्ष वैज्ञानिक पद्धतिको आधारमा खाद्य श्रृंखलाका प्रत्येक चरणहरुमा खाद्य स्वच्छता तथा गुणस्तरीयताको सुनिश्चितताका साथै खाद्य उद्योगलाई व्यापारमा सहजीकरण गर्ने उद्देश्य लिएको मन्त्री अधिकारीले बताए।
उहाँले संयुक्त राष्ट्रसंघले यसवर्षका लागि तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने नारालाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए। —न्युज एजेन्सी नेपाल