बजारमा बन्दाको भाउ बढेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार गतसाता मंगलबारको तुलनामा आज (एकसाता पछि) बन्दा झन्डै दोब्बरले महँगिएको छ।
बजारमा बन्दा लोकल र तराई गरि दुई प्रकारका आउँछन्।
गत साता मंगलबार कालिमाटी तरकारी बजारमा लोकल बन्दा प्रतिकिलो थोक मूल्य ४० देखि ५० र तराई बन्दा ३० देखि ४० रूपैयाँ थियो।
आज लोकल बन्दा प्रतिकिलो थोक मूल्य ८० देखि ९० र तराई बन्दा ७० देखि ९० रूपैयाँमा कारोबार भएको छ।
बजारमा माग अनुसारको उत्पादन कम हुँदा बन्दाको भाउ बढेको राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी महासंघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
‘बजारमा बन्दा एकदमै कम छ। त्यसैले मूल्य बढेको हो,’ उनले भने।
उनका अनुसार गत वर्ष उत्पादन धेरै हुँदा बिक्री नभएर किसानको बारीमै कुहिएको थियो। त्यसैले यो वर्ष धेरै किसानले बन्दा उत्पादन नै गरेनन्। उत्पादन नहुँदा मूल्य बढेको हो।
गत वर्षको तुलनामा यो वर्ष ८० देखि ९० प्रतिशतले बन्दाको उत्पादन घटेको उनको भनाइ छ।
उनका अनुसार कालिमाटी बजारमा सबैभन्दा बढी बन्दा दोलखा र पालुङबाट आउने गरेको थियो। यो वर्ष ती ठाउँबाट थोरै मात्रामा मात्रै बन्दा आएका छन्।