स्वदेशी सुन्तलाको उत्पादन घट्दै जाँदा बढ्यो भारतीय निर्भरता


‘मंसिर लागेपछि लटरम्म फलेका सुन्तलाका बोटले गाउँघरका फाँट पुरै सुनौला देखिन्थे, हाम्रै पनि १५ वटा जति बोट थिए। यसपालि सुन्तला राम्ररी फले घर खर्च टार्न गाह्रो पर्दैन भन्ने गर्नुहुन्थ्यो बुवाले।’

काठमाडौँ बस्ने गोर्खा फुजेलकी पम्फा अधिकारीले २५ वर्ष पुरानो माइतीगाउँको दृश्य सम्झिँदै भनेको कुरा हो यो। पम्फासँग अरुलाई सुनाउनलाई अब विगतको अनुभव मात्र छ। अहिले उनको माइतीघरमा कुनै बेला लटरम्म फल्ने सुन्तलाको बारी त छ तर बोट बाँकी छैनन्।

‘धेरै वर्षसम्म पनि सुन्तलाका बोटहरु थिए तर पछि सुक्दै गए। हिजोआज माइती जाँदा जताततै उजाड देखिन्छ’ उनले भनिन् ‘अहिले धेरैको घरमा सुन्तालको बोट छैन।’

कृषि विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्ने हो भने २०६७/६८ मा गोर्खामा ५४७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको थियो। त्यस वर्ष गोर्खामा ७ हजार २२० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो जसको उत्पादकत्व १३.२ मेट्रिक टनप्रति हेक्टर थियो।

त्यसको ५ वर्षको अन्तरालमा खेती गरिएको भूभाग बढेको छ। २०७३ साल ८७८ हेक्टर क्षेत्रफलमा खेती भएको थियो। सो वर्ष गोर्खामा ७ हजार ८२१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो तर क्षेत्रफल र उत्पादन बढे पनि उत्पादकत्व भने ओरालो लागेको छ। सो वर्ष उत्वादकत्व ८.९ मेट्रिक टन प्रति हेक्टरमा खुम्चिएको थियो।

त्यस्तै देशकै सबैभन्दा ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि गोर्खाबाट आउने सुन्तलाको अनुपात घट्दै गएको छ।

२०७१ मा १८ लाख तथा २०७२ मा १६ लाख ६४ हजार केजी सुन्तला कालीमाटी भित्रिएकोमा २०७३ मा घटेर ११ लाख ४२ हजार ६ सय केजीमा सीमित भएको छ। तीनवर्षको अन्तरालमा गोर्खाबाट भित्रने सुन्तलाको परिणाममा ७ लाख २२ हजारले कमी आएको छ।

त्यस्तै सुन्तलाको मुख्य सिजन चलिरहँदा समेत चालु महिनाको २ गतेसम्ममा जम्मा ४५ हजार ५ सय केजी गोर्खाबाट आएको छ। सुन्तलाको उत्पादन गोर्खामा मात्र घटेको हैन। देशैभरी सुन्तलाकोे उत्पादनमा कमी आएको छ भने स्थानीय प्रजातिहरु पनि मासिँदै गएका छन्। नेपाली उत्पादन घटेसँगै बजारमा भारतीय सुन्तलाको योगदान बढ्दै गएको छ।

मन्त्रालयको तथ्यांक अनुसार २०६७/२०६८ मा १४ हजार ९१३ हेक्टर क्षेत्रफलमा खेती गरिएको सुन्तलाको उत्पादन एक लाख ७९ हजार ४९३ मेट्रिक टन थियो। सो वर्ष १२.०४ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व थियो।

२०६९/७० मा १५ हजार २७६ हेक्टर जमिनबाट १ लाख ४६ हजार ७२१ मेट्रिक सुन्तला उत्पादन भएको थियो। उत्पादकत्व ९.६ मेट्रिक टन प्रति हेक्टर थियो।

२०७१/७२ मा भने १६ हजार २२४ हेक्टर क्षेत्रफलमा खेती गरिएको सुन्तलाको उत्पादन १ लाख ४९ हजार २१२ मेट्रिक टनमा सीमित भयो। उत्पादकत्व ९.२ मेट्रिक टन प्रतिहेक्टरमा खुम्चिएको थियो। तथ्याङ्कअनुसार खेती गरिएको क्षेत्रफल लगभग उस्तै रहेपनि २०७२/७३ मा उत्पादन र उत्पादकत्व दुबै घटेको छ। सो वर्ष देशभर कुल १६ हजार २४८ हेक्टर जमिनमा सुन्तलको खेती गरिएको थियो। १ लाख ४६ हजार ६९० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। उत्पादकत्व ९.० मेट्रिक टन प्रतिहेक्टर रह्यो।

यसरी निरन्तर स्वदेशी सुन्तलाको उत्पादन र उत्पादकत्व घट्दै जानुका पछाडि परम्परागत खेती शैली, विभिन्न रोग किराको संक्रमण तथा तिनको उचित निदान नहुनु प्रमुख कारण रहेको विश्लेषण गर्छन् वरिष्ठ कृषि विशेषज्ञ राजेन्द्र देवकोटा।

‘नेपाली फलफूल विकासको इतिहास हेर्ने हो भने सबैप्रकारका बिरुवा उत्पादन बिज विधीबाट गर्दै आएका छौँ’ उनले भने ‘सुन्तला पहिलेको भन्दा साना हुँदै गएको तथा रस गुमाउँदै गएको छ।’

देवकोटाका अनुसार अधिकांश जिल्लाहरुमा अनेक प्रकारका रोगका संक्रमणहरु देखा पर्दै गएपनि कारण र निदानका उपाय थाहा हुन नसक्दा किसानहरु मर्कामा परेका छन्।

‘विभिन्न जिल्लामा पातहरु पहेँलो हुँदै जाने, टुप्पा सुक्दै जाने र अन्त्यमा बोट नै सुक्ने जस्ता समस्या देखा परेका छन्। तर यसको स्पष्ट कारण के हो भनेर कसैले भन्न सकेको छैन’ उनले भने, ‘कसैले सिट्रस डिक्लाइन वा ग्रिनिङको आँकलन गरेका छन्। कसैले माटोमा खाद्य तत्वको कमी, ब्याक्टेरिया त कसैले रोग सार्ने कीराहरु ‘भेक्टर’ को शंका गरेका छन्। तिमध्ये केहीको पनि एकीन नभएकाले बोट उखलेर फाल्नु बाहेकको अर्को विकल्प देखिएन।’

उनले पहिचान हुन नसकेको रोगको संक्रमणका कारण स्थानीय प्रजाति माँसिदै गएको समेत दाबी गरे। धनकुटा, बैतडी, पाल्पा, पोखराका भिन्न भिन्न जातका सुन्तलाहरु बजारमा आउनै छाडेको उनले बताए।

‘पर्वतको बाँसखर्क, गोर्खाको मनकामना, धनकुटाको खोको, दैलेखको दुल्लुजस्ता स्थानीय सुन्तला मासिँदै गएका छन्’ उनले भने ‘अहिले त बजारमा कहाँको सुन्तला भन्ने समेत कसैलाई थाहा हुँदैन।’

स्वदेशी उत्पादनमा आएको कमीले भारतीय बजारबाट आयात हुने सुन्तलाको परिमाण बढ्दै गएको देखिन्छ। २०७१ मा २ लाख केजी सुन्तला आयात भएकोमा त्यसपछि क्रमश २०७२ मा २ लाख ५४ हजार तथा २०७३ मा ६ लाख १५ हजार केजी सुन्तलाको आयात भएको छ। चालु वर्षको पुस २ गतेसम्ममा एक लाख केजी सुन्तला आयात भएको छ।

विगत २५ वर्षदेखि व्यापार गर्दै आएका कालिमाटीका भरत खनाल विभिन्न जिल्लाबाट पहिलेको जस्तो सुन्तला आउनै छोडेको बताउँछन्। ‘पहिले कालिमाटीमा मात्रै दैनिक २० गाडी सुन्तला भित्रिन्थ्यो, अहिले मुस्किलले ३ गाडी आइरहेको छ’ खनालले भने।

उनका अनुसार ५ वर्षअघिसम्म पनि काठमाडौँ, खैरेनी, मुग्लिन, नारायणगढ लगायतका बजार गोर्खाकै सुन्तलाले थेग्ने गर्थ्यो। तर अहिले भने गोर्खाबाट मात्रै हैन प्राय जिल्लाबाट सुन्तला आउन छाडेको छ।

यहाँको सिजन आउनुपूर्व र सकिएसँगै भारतबाट सुन्तला आउन सुरु हुने खनालले बताए। उनका अनुसार कालिमाटी बजारमा हाल ‘ए’ बी’ र ‘सी’ गरी तीन श्रेणीका सुन्तलाहरु पाइन्छन्। दाग नभएका सग्ला तथा ठूला दाना परेका ‘ए’ श्रेणीमा पर्छन। ‘सी’ श्रेणीमा साना दाना तथा चोट लागेकाहरु तथा बी श्रेणीमा भने मध्यम सुन्तला पर्छन्।

हाल ए श्रेणीका सुन्तलाको ७० देखि ८०, बीका ४५ देखि ५५ तथा सी श्रेणीका ३० देखि ४० रुपैंयाँ प्रति केजीका दरले विक्री भइरहेको उनले जानकारी दिए।

बजारमा कम आउन थालेपछि भने विगतको तुलनामा मूल्य समेत बढ्दै गएको उनले बताए। ‘गत वर्षभन्दा यो वर्ष ३० प्रतिशतले बजार भाउमा वृद्धि आएको छ’ उनले भने।

फलफूल विकास निर्देशनालय अन्तर्गतको राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमकी प्रमुख डा. शान्ता कार्कीले समग्र देशमा सुन्तलाको उत्पादन कम हुँदै गएको स्वीकार गरिन्। यद्यपी निराश भई हाल्नु पर्ने स्थिति नभएको उनी बताउँछिन्।

‘कुनै जिल्लामा उत्पादन घट्दै गएको छ भने कुनैमा बढ्दै पनि गएको छ’ उनले भनिन् ‘उत्पादन घटेका तथा बढेका जिल्लामा कसरी भयो हामी नजिकबाट नियाल्छौँ र आवश्यक कार्यक्रम लैजाने छौँ।’

विभिन्न प्राकृतिक प्रकोप, उपयुक्त बगैँचा व्यवस्थापनको कमी तथा रोगहरुको संक्रमणले केही जिल्लाहरुमा उत्पादन घटेको कार्कीको विश्लेषण छ।

‘खन्जोत, मलजल जस्ता सामान्य कुराहरुमा हेलचेक्रयाँई, ग्रिनिङ, कचेरा पर्ने, लाइ लाग्ने, कतै असिना पानीले कम फल्ने तथा फलेको पनि नस्ट भएको हामीले पाएका छौँ’ कार्कीले भनिन्।

रोग लाग्न नदिन तथा उत्पादन बढाउन बिज भन्दा कलमी विधिलाई प्राथमिकता दिने, माटोको गहिराइ तथा अवस्था मापन गरी स्वस्थ बिरुवा लगाउने, रुट स्टक तथा माउ बिरुवा जाली घरमा राख्ने जस्ता व्यवस्थापकीय नियमहरु राम्रोसँग पालना गरेमा उत्पादनमा वृद्धि हुने उनी दाबी गर्छिन्।

‘हामी गत साउनमा स्याङजा जाँदा असिनाले ५० प्रतिशत चिचिल्ला झारेको थियो’ उनले अनुभव सुनाइन् ‘तर तनहुँमा पुग्दा त्यहाँ नयाँ बगैँचा लगाइएको तथा व्यवस्थापन समेत राम्रोसँग गरिएको पायौँ।’ एउटै किसानले ४० लाखसम्मको सुन्तला बेचेको बताउँदै उनले व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्। व्यवस्थापनको प्रमुख समस्याका रुपमा जनशक्तीको र सचेतनाको अभाव रहेको उनी स्वीकार्छिन्।

यसका लागि केन्द्रबाट खेती गर्ने विधि सिकाउन तालिम तथा कृषक भ्रमण जस्ता कार्यक्रम गर्ने गरिएको उनको दावी छ।  विभिन्न अनुदान तथा सहायता स्थानीय स्तरमै जान थालेकाले किसानहरु ति निकायबाट प्राप्त हुने सहयोगका बारेमा चनाखो हुनुपर्नेमा उनले जोड दिइन्।

नेपाली सुन्तला ‘भ्यालेन्सिया’ प्रजाति अन्तर्गत पर्छन्। बोक्रा छोडाउन सहज तथा अमिलोको मात्रा कम र सुगर बढी हुने भएकाले स्थानीय सुन्तला रसिला हुन्छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.